काठमाडौँ, ५ पुस : विश्व ध्यान दिवसका अवसरमा भोलि शनिबार विश्वव्यापीरुपमा ३२ घण्टासम्म लगातार ध्यान कार्यक्रम आयोजना गरिएको छ ।
विश्व ध्यान दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घले २० डिसेम्बर २०२४ मा न्यू योर्क सिटीमा उक्त कार्यक्रम आयोजना गरेको हो । जसको प्रमुख वक्ता डा टोनी नादर हुनुहुन्छ । जो हार्वर्ड–प्रशिक्षित स्नायुविज्ञानी र भावातीत ध्यानसम्बन्धी संस्थाका प्रमुख हुनुहुन्छ । डा नादरले २१ डिसेम्बरमा वैश्विक सामूहिक ध्यान कार्यक्रम सञ्चालन गर्नुहुने नेपाल महर्षि वैदिक फाउन्डेसनले आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
कार्यक्रममा विश्वभरका ध्यानीहरूले बिहान ८ बजे र साँझ ५ बजे (म्यानमारदेखि नेपाललगायत अफगानिस्तानसम्मका देशमा बिहान ८ः४५ बजे र साँझ ५ः४५ बजे) ध्यान गर्ने फाउन्डेसनका अध्यक्ष एवं पूर्वगृहराज्यमन्त्री दीपकप्रकाश बास्कोटाले बताउनुभयो ।
विश्वव्यापी शान्ति स्थापनाका लागि ध्यानको प्रभाव उपयोगी हुने तथ्य विश्वका दुई सय बढी विश्वविद्यालयमा गरिएको करिब सात सय ५० बढी वैज्ञानिक अनुसन्धानले प्रमाणित गरेको अध्यक्ष बास्कोटाले बताउनुभयो ।
डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो । नेपाल, भारत, श्रीलङ्का लिचटेनस्टाइन, एन्डोरा र मेक्सिको गरी छ वटा देशको समूहले विश्व ध्यान दिवसको प्रस्ताव गरेका थिए । प्रस्तावलाई एक सय ९३ सदस्य राष्ट्रले सर्वसम्मत समर्थन गरेका छन् ।
फाउन्डेसनले डिसेम्बर २१ अर्थात् भोलि शनिवार विहान ८ः४५ बजेदेखि महर्षि वैदिक इन्स्टिच्युट, ब्रह्मानन्द सरस्वती ग्राम चम्पादेवीमा सामूहिक भावातीत ध्यानसहितको कार्यक्रम आयोजना गरेको अध्यक्ष बास्कोटाले बताउनुभयो । नेपाल महर्षि वैदिक फाउण्डेसनले सबै ध्यानीलाई यस ऐतिहासिक कार्यक्रममा पायक पर्ने स्थानमा सामेल भई सहभागी हुन आह्वान गरेको छ ।
नेपालमा नेपाल महर्षि वैदिक फाउण्डेशनको अगुवाइमा सन् २००० देखि भावातीत ध्यान अभ्यास भइरहेको छ । नेपाल सरकारले पनि डिसेम्वर २१ मा ध्यान दिवस मनाउने जनाएको छ ।