एनपिएल : फाइनलमा सुदूरपश्चिम र जनकपुर भिड्दै

  पुष ०५, २०८१

काठमाडौँ, ५ पुस : पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल शनिबार हुँदैछ । फाइनलमा खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट मैदानमा कीर्तिपुरमा मध्याह्न साढे १२ बजे सुरु हुनेछ । फाइनल खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।

दुवै टोलीले उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रिने तयारीमा छन् । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन्भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् ।

शत्प्रतिशत दिन्छौँ: दीपेन्द्रसिंह ऐरी, कप्तान सुदूरपश्चिम रोयल्स

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी मैदानमा शत्प्रतिशत योगदान दिने बताउनुभएको छ । फाइनल खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कप्तान ऐरीले फाइनल खेलका लागि कुनै विशेष योजना नभएको उल्लेख गर्नुभयो । “त्यस्तो कुनै विशेष योजना छैन् । दुई टिममध्ये एउटाले जित्ने हो । हामी मैदानमा शत्प्रतिशत दिन्छौँ”, पत्रकार सम्मेलनमा दीपेन्द्रले भन्नुभयो ।

कप्तान ऐरीले अघिल्ला खेलहरु राम्रो भइरहेको बताउँदै फाइनल खेलमा पनि राम्रो गर्ने धारणा राख्नुभयो । “सबै राम्रो भइरहेको छ । पहिले खेलेका खेलहरू पनि राम्रै भएका छन् । पहिले हरायो भनेर सजिलो रूपले लिनुभएन । प्रतिस्पर्धा एकदम रोमाञ्चक र उत्कृष्ट हुनेछ”, उहाँले भननुभयो, “हामीले योजना बनाएर खेलिरहेका छौँ । फाइनल खेल पनि लिगहरूका खेलमा खेले जस्तै खेल्नेछौँ । फाइनल शत्प्रतिशत दिनेछौँ ।”

राम्रो प्रदर्शन गर्छौंः आशिफ शेख, कप्तान, जनकपुर बोल्ट्स

जनकपुर बोल्ट्सका कप्तान आशिफ शेख फाइनल खेलमा राम्रो प्रदर्शन गर्ने बताउनुभएको छ । उहाँले भननुभयो, “आफूसँग जे जति छ, त्यो मैदानमा दिने छौँ । फाइनल खेलको नतिजाका बारेमा अहिले नै सोचेका छैनौँ तर उत्कृष्ट प्रदर्शन गर्नेछौँ ।”

कप्तान शेखले भन्नुभयो, “भोलि एउटा क्वालिटी क्रिकेट खेल्छौँ । हामीसँग जे जति छ, त्यो भोलि मैदानमा दिन्छौँ । रिजल्टका बारेमा त्यस्तो केही सोचेका छैनौँ । मैदानमाबाट निस्कने बेलामा यति मात्र महसुस हुनुपर्‍यो कि, आफूसँग जे जति थियो सबैलाई दियौँ ।”

तपाईको प्रतिक्रिया