वालिङ (स्याङ्जा), ५ पुस : गएराति स्याङ्जाको भिरकोट नगरपालिका–१ भलुवाडाँडामा आगलागी भएको छ । भलुवाडाँडा बस्ने ८१ वर्षीय बेलनारायण श्रेष्ठको ढुङ्गा तथा माटोले बनेको कच्ची घर र गोठमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी उमेशलाल श्रेष्ठले बताउनुभयो ।
गएराति श्रेष्ठको एकतले कच्ची गोठबाट सुरु भएको आगोले निजकै कच्ची दुईतले घर र गोठमा क्षति पुगेको छ । विद्युत् सर्ट भई आगलागी भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो । प्रहरी र स्थानीयले झण्डै एक घण्टापछि आगो नियन्त्रणमा लिएका थिए ।
आगलागीबाट दुईतले कच्ची घर र गोठ जलेर पूर्ण रुपमा नष्ट भएको छ । रातिको समयमा अकस्मात घर जल्दा भित्रै रहेको रु एक लाख ३० हजार नगद, सुन सात तोला, भाँडावर्तन, लत्ताकपडा गरी रु १५ लाख बराबरको क्षति भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।