भैरहवा(रुपन्देही), ५ पुस : भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा फेला परेको प्रेसर कुकर बमलाई नेपाली सेनाले निष्क्रिय गरेको छ ।
मेडिकल कलेजको मालीले रुख काटिरहेको अवस्थामा बिहान करिब १०ः३० पुरानो प्रेसरकुकर बम फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो । “बम पुरानो खिया लागेको अवस्थामा थियो, नेपाली सेनाले निष्क्रिय गरेको छ”, कार्कीले भन्नुभयो, “कसले र कहिले राख्यो यो विषयमा केही खुलेको छैन, अनुसन्धानको क्रममै रहेका छौँ ।”
प्रेसर कुकरको ह्याण्डललाई डोरीले बाँधेर त्यसमा घडी ब्याट्रीलगायतका उपकरण जडान गरिएको थियो । ब्यागमा राखेको अवस्थामा कुकर बम फेला परेपछि मेडिकल कलेजले जिल्ला प्रशासन कार्यालयलाई खबर गरेको थियो । बमलाई भैरहवास्थित कालीभक्ति गणको नेपाली सेनाले दिउँसो १ बजे निष्क्रिय गरेको थियो ।