माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि

  पुष ०४, २०८१

चितवन,४ पुस : जिल्लाको माडी नगरपालिकामा एक हजार दुई सय ६९ घरपरिवार गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । माडी नगरपालिकाले जारी गरेको एक सूचनाका आधारमा यी परिवारलाई अति गरिब, मध्यम गरिब र सामान्य गरिब भनेर वर्र्गीकरण गरिएको छ ।

नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिब घरपरिवार पहिचान सर्वेक्षण २०७८ मा आधारित गरिब घरपरिवारको सूची विवरण सार्वजनिक गरेको हो । नगरपालिकाका सूचना अधिकारी प्रवीण भण्डारीका अनुसार विसं २०७८ सालदेखि माडी नगरपालिकाका नौवटा वडामा आठजना गणक र एकजना सुपरिवेक्षकले घरधुरी सर्वेक्षण गरेका थिए । सोही सर्वेक्षणका आधारमा गरिब घरपरिवार पहिचान गरी सार्वजनिक गरिएको हो । हरेक घरमा कार्यविधि अनुसारका प्रश्नावली बनाएर सर्वेक्षण गरिएको भण्डारीले जानकारी दिनुभयो । घरको आम्दानी, खर्च, आर्थिक अवस्थालगायत विषयमा केन्द्रित रहेर गणना गरिएको थियो ।

प्रारम्भिक सूचीमा परेका गरिबहरूलाई नाम सच्याउन र विवरण समावेश गर्न नगरपालिकाले १५ दिनको सूचनासमेत प्रकाशन गरेको छ । यस सूचीमा परेका परिवारहरूलाई सरकारले परिचयपत्र वितरणसँगै राज्यबाट पाउने सेवासुविधामा उच्च प्राथमिकतामा राख्ने सूचना अधिकारीे भण्डारीले बताउनुभयो ।

नगरप्रमुख ताराकुमारी काजी महतोले गरिब परिवारको पहिचानसँगै नगरपालिकालाई भावी कार्यक्रम बनाउनसमेत सहयोग पुग्ने बताउनुभयो । गरिब परिवार लक्षित कार्यक्रमहरू बनाउन यो तथ्याङ्कले सहयोग पुग्ने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया