बैतडी, २९ मङ्सिर : नेपाल पत्रकार महासङ्घ बैतडी शाखामा नयाँ नेतृत्व चयन भएको छ । यहाँ अध्यक्ष र कोषाध्यक्ष पदमा निर्वाचन र अन्य पदहरूमा निर्विरोध चयन भएका हुन् ।
महासङ्घको आठौँ जिल्ला अधिवेशनबाट नरीदत्त बडूको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । खसेको कुल ४५ मतमध्ये बडूले ३९ मत ल्याएर विजयी हुनुभयो । अर्का अध्यक्षका उम्मेदवार लोकेश साउँदले ६ मत मात्रै प्राप्त गर्नुभयो । बडू नेपाल टेलिभिजन र साउँद नयाँ पत्रिकाका जिल्ला संवाददाता हुनुहुन्छ ।
समितिको खुला उपाध्यक्षमा लक्ष्मण बिसी (रेडियो मेलौली), महिला उपाध्यक्षमा रतना कलौनी (दिनेश खबर), सचिवमा विनोद विष्ट (रासस), सहसचिवमा केशवराज भट्ट (वासुलिङ्ग मिडिया) र समावेशी सहसचिवमा मङ्गेश दयाल (रेडियो मेलौली) हुनुभएको हो । कोषाध्यक्ष पदका लागि भएको निर्वाचनमा करूणाकर भट्ट (रेडियो बैतडी) २४ मत प्राप्त गरेर विजयी हुनुभयो । भट्टका प्रतिस्पर्धी कृष्णबहादुर विष्ट (रेडियो सेभेनस्टार) ले २० मत पाउनुभयो । अर्का कोषाध्यक्ष पदका उम्मेदवार सुरेश अवस्थी (रेडियो निङ्गलाशैनी)ले एक मत पनि प्राप्त गर्न सक्नु भएन ।
यस्तै, शाखाका सदस्यहरूमा गौरव चन्द (रेडियो सनसेर), सरस्वती मडै (रेडियो सनसेर), डम्बर बोहरा (रेडियो सेभेनस्टार), वीरेन्द्र विष्ट (खबरबोर्ड), मदनराज भट्ट (रेडियो सेभेनस्टार), राधिका भट्ट (जनआदर्श साप्ताहिक), प्रताप दमाई (नेपाल एफएम नेटवर्क) र विमला भट्ट (रेडियो निङ्गलाशैनी) पनि निर्विरोध चयन हुनुभएको छ ।
साथै केन्द्रीय परिषद् सदस्यमा लक्ष्मीदत्त पाण्डेय (रेडियो नेपाल), अमर भट्टराई (रेडियो सेभेनस्टार) र प्रदेश परिषद् सदस्यमा भगिरथ अवस्थी (रेडियो निङ्गलाशैनी), डिआर भट्ट (निको खबर), सिपी लोहिया (स्टार बुलेटिन) र वसन्तप्रकाश विष्ट (सुर्नया टाइम्स) निर्विरोध हुनुभएको छ ।
आगामी ३ वर्षका लागि चयन भएको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई आज निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । साथै पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम पनि सम्पन्न छ ।