काठमाडौँ, १५ मङ्सिर : नेपाल प्रिमियर लिग (एनपिएल) विजेता टोलीले एक करोड ११ लाख रुपियाँ पुरस्कार पाउने भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले एनपिएल उद्घाटनसँगै शनिबार पुरस्कार राशिको घोषणा गरेको हो । उद्घाटन खेलमा अहिले जनकपुर बोट्ल्स र विराटनगर किङ्सबिच प्रतिस्पर्धा भइरहेको छ ।
त्रिवि मैदान कीर्तिपुरमा जनकपुरले टस जितेर फिल्डिङ रोजेको हो । जनकपुरले फिल्डिङ रोजेपछि विराटनगर पहिले ब्याटिङ गरिरहेको छ ।
यस्तै क्यानले उपविजेता टोलीलाई ५० लाख, तेस्रो हुने टोलीलाई ३० लाख र चौथोलाई २० लाख रुपियाँ पुरस्कार दिने निर्णय गरेको छ । पुस ६ गतेसम्म चल्ने एनपिएलमा आठ टोलीको सहभागिता रहेको छ ।