मुख्यमन्त्री कार्कीद्वारा शताक्षीधाममा ८७ वटा धाराको उद्घाटन

  ३ घण्टा अगाडि

झापा, १३ मङ्सिर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज एक समारोहबीच धार्मिक तथा पर्यटकीयस्थल शताक्षीधाममा नवनिर्मित ‘शताक्षी धारा’ (८७ वटा धारा) को उद्घाटन गर्नुभएको छ ।

सय वटा आँखा भएकी शताक्षी देवीको मन्दिर भएको झापाको शिवसताक्षी नगरपालिकामा दाताहरुले धारा निर्माण गरेका हुन् । मुख्यमन्त्री कार्कीले शताक्षी धाराको जलअभिषेक गर्नुको साथै शताक्षीधामस्थित दिगम्बेश्वर महादेव र शाकम्बरी देवीको मन्दिरमा पूजाअर्चना गर्नुभएको छ ।

उहाँले धाममा निर्माण हुने अतिथि गृहको पनि शिलान्यास गर्नुभयो । शिवशताक्षी नगरपालिका, कोशी प्रदेश र दाताहरुको सहयोगमा अतिथि गृह निर्माण गरिने भएको छ । तीन तला र ५१ कोठा रहने अतिथि गृह निर्माणका लागि गोलोक गोवर्द्धन गौशालाका संरक्षक आचार्य नन्दकिशोरजी महाराजले रु १० लाख सहयोगको घोषणा गर्नुभएको छ ।

शताक्षीधाम मन्दिर तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष तुला बोखिमले धाममा आउने भक्तजनलाई स्नानका लागि धामको पौराणिक कथासँग मिल्दोजुल्दो ८७ वटा धारा निर्माण गरिएको बताउनुभयो । महाभारतकालीन कथामा पाँच पाण्डवले वनवास कालमा आश्रय लिएर एक सय आँखा भएकी शताक्षीदेवीको पूजा आराधना गरेको पवित्र स्थानको रुपमा शताक्षीधामको महत्त्व वर्णन भएको बोखिमले बताउनुभयो ।

शताक्षी धारामा धाम नजिकैको शताक्षी गङ्गाबाट जल ल्याइएको छ । धामको मन्दिरमा पूजा र धारामा स्नान गरेपछि शताक्षीधामको पूजा पूर्ण हुने गोलोक गोवर्द्धन गौशालाका संरक्षक आचार्य नन्दकिशोरजी महाराजको भनाइ छ ।

रुद्राक्षबाट बन्यो शिवलिङ्ग

शताक्षीधाममा धार्मिक पर्यटक आकर्षित गर्न एक करोड २५ हजार वटा रुद्राक्षका दानाबाट ५१ फिट अग्लो शिवलिङ्ग निर्माण गरिएको छ । गोलोक गोवर्द्धन गौशालाले निर्माण गरेको यस शिवलिङ्गमा नेपालका ५१ वटा जिल्ला, भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, मणिपुर, आसामलगायत ठाउँबाट सङ्कलन गरिएको रुद्राक्ष प्रयोग गरिएको छ । भुटान र म्यान्मारका हिन्दू धर्मावलम्बीले रुद्राक्ष पठाएको गौशालाले जनाएको छ ।

यही मङ्सिर १७ गते शिवलिङ्गको उद्घाटन गरिने र त्यसमा रु १७ लाख २० हजार खर्च भएको जनाइएको छ । फलामको फ्रेममा वरिपरि रुद्राक्षको माला लगाएर शिवलिङ्ग निर्माण गरिएको हो ।

तपाईको प्रतिक्रिया