धानको मूल बीउ उत्पादन गर्दै व्यावसायिक कीट विकास फर्म

  मंसिर १०, २०८१

चितवन, १० मङ्सिर : यहाँको व्यावसायिक कीट विकास फर्मले विगत दुई वर्षदेखि धानको मूल बीउ उत्पादन गर्दै आएको छ । फर्मका नाममा रहेको दुई बिगाहा जग्गामा विभिन्न जातका धानको बीउ उत्पादन थालेको हो ।

कार्यालय प्रमुख पूर्णिमा क्षेत्रीका अनुसार राष्ट्रिय धानबाली अनुसन्धान कार्यालय धनुषाबाट प्रजनन बीउ ल्याएर मूल बीउ उत्पादन सुरु गरिएको हो । अघिल्लो आर्थिक वर्षमा मकवानपुर १ र बहुगुणी १ को बीउ उत्पादन गरिएको भए पनि यस वर्ष भने सावित्रीको मूल बीउ उत्पादन गरिएको उहाँले जानकारी दिनुभयो ।

गत वर्ष ४० क्विन्टल बीउ उत्पादन भए पनि २० क्विन्टल मात्र बीउका लागि प्रयोग भएको थियो । उहाँले भन्नुभयो, “निजी क्षेत्रबाट धानको बीउ उत्पादन हुँदै आएको भए पनि प्रदेश सरकारका तर्फबाट यो पहिलो हो ।” गत वर्ष उत्पादित बीउमध्ये २० क्विन्टल बीउका लागि र २० क्विन्टल खाद्यान्नका लागि बिक्री भएको उहाँले बताउनुभयो ।

क्षेत्रीले भन्नुभयो, “मकवानपुर १ धानको बीउको माग आयो तर बहुगुणीको माग आएन ।” अन्न बालीमा धानको बीउ राम्रो उत्पादन गरेर बिक्री वितरणका लागि तयार पार्ने गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार बीउ उत्पादनमा सहज र किसानले राम्रो बीउ पाउन सकून् भन्ने उद्देश्यका साथ बीउ उत्पादन थालिएको हो ।

यहाँ उत्पादित बीउलाई आफूहरुले सहकारीलाई बिक्री गरेर एक वर्ष सहकारीले समेत बीउ उत्पादन गरेपछि मात्र किसानकामा बीउका रुपमा पुग्ने उहाँले जानकारी दिनुभयो । यस वर्ष कार्यालयले ६० क्विन्टल मूल बीउ उत्पादन हुने अनुमान गरिएको छ । यस कार्यालयले अहिले धानसँगै च्याउ र मेवाको बीउ तथा बिरुवा उत्पादन गर्न सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया