जुम्लाका आठवटै स्थानीय तह साक्षर घोषणा

  मंसिर ०८, २०८१

जुम्ला, ८ मङ्सिर : जुम्लाका आठवटै स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लामा एक नगरपालिकासहित सात गाउँपालिका एकैसाथ साक्षर घोषणा भएका हुन् ।

साक्षरताका १२ सूचकमध्ये अधिकांश सूचकहरू पूरा गरेपछि यहाँका सबै स्थानीय तहलाई साक्षर घोषणा गरिएको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले जानकारी दिनुभयो । गत भदौ २१ गते हिमा गाउँपालिका पहिलो साक्षर पालिकाका रूपमा घोषणा भएको थियो ।

जिल्ला समन्वय समितिका अनुसार सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा ९८ दशमलव ९१ प्रतिशत र सबैभन्दा कम तिला गाउँपालिकामा ९५ दशमलव चार प्रतिशत नागरिक साक्षर छन् ।

कनका सुन्दरी गाउँपालिकामा ९७ प्रतिशत, सिञ्जामा ९६ दशमलव पाँच, तातोपानीमा ९५ दशमलव ७७, गुठिचौरमा ९५ दशमलव ७३, हिमामा ९५ दशमलव ७२ र पातारासीमा ९५ दशमलव २४ प्रतिशत नागरिक साक्षर रहेका स्थानीय तहको शिक्षा शाखाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

साक्षरताका १२ सूचकमध्ये छ सूचक पूरा गर्ने पालिकालाई साक्षर पालिका घोषणा गर्ने प्रावधान रहेको जिल्ला समन्वय समितिका प्रमुख आचार्यले बताउनुभयो । जिल्लाका ६० वटा वडाका बस्तीमा साक्षर सङ्ख्याको खोजी गरिएको थियो ।

साक्षरता पालिका घोषणा गर्न राष्ट्रभाषा वा मातृभाषाका वर्ण अक्षरको पढाइ तथा लेखाइ गर्न सक्ने, मूल्यसूची र बिल पढ्न सक्ने, परिवारको सदस्यको नाम, उमेर लेख्न र पढ्न सक्ने, मोबाइल र क्यालकुलेटरका अङ्क र अक्षर चिनेर प्रयोग गर्न सक्ने, शून्यदेखि नौसम्मका अक्षर र अङ्क लेख्न र चिन्न सक्नेलगायत सूचकहरू पूरा भएपछि पालिकालाई साक्षर घोषणा गरिएको तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिनुभयो ।

सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले लामो समयको मेहिनत र लगाबपछि जुम्ला साक्षर जिल्ला घोषणाको मार्ग खुलेको बताउनुभयो । उहाँले अब हरेक पालिकाले साक्षरबाहेक निरीक्षण जनशक्तिलाई साक्षर बनाएर सतप्रतिशत साक्षर नागरिक बनाउने योजना तर्जुमा गर्नुपर्ने आवश्यक औँल्याउनुभयो । हरेक स्थानीय तह, शिक्षासँग सरोकार राख्ने निकायदेखि सर्वसाधारण नागरिक जिम्मेवार रूपमा प्रस्तुत हुनुपर्नेमा अध्यक्ष धितालले जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया