सुनवलमा पशु सेवा केन्द्र

  ७ घण्टा अगाडि

पाल्हीनन्दन (नवलपरासी ब सु प), ७ मङ्सिर : जिल्लाको सुनवल–२ मा रु डेढ करोड लागतमा निर्माण गरिएको पशु अस्पताल सञ्चालनमा आएको छ ।

आज यहाँ आयोजित कार्यक्रममा सुनवल नगरप्रमुख विमला अर्यालले पशु सेवा केन्द्रको उद्घाटन गर्नुभयो । उहाँले सेवा केन्द्र सञ्चालनमा ढिलाइ भए पनि अब सेवा प्रवाहमा कुनै कमी आउन नदिने गरी काम हुने बताउनुभयो ।

पशु सेवा केन्द्रमा आउने गाई, भैँसी, बाख्रालगायत जनावरलाई पशुविज्ञ डाक्टरद्वारा निःशुल्क औषधोपचार गर्ने बताउनुभयो ।

पशु सेवा सञ्चालनमा आएपछि यस क्षेत्रका गाईभैँसी, बाख्रालगायत चौपायाको उपचारमा सहज हुने र पशुविज्ञ चिकित्सकद्वारा निःशुल्क औपाधोपचार हुने जनाइएको छ ।

सङ्घीय सरकार र वडा कार्यालयको संयुक्त लगानीमा निर्माणा भएको केन्द्र सञ्चालनमा आएपछि स्थानीय पशुपालक किसान नकिै लाभान्वित हुने अपेक्षा गरिएको सुुनवल–२ का वडाध्यक्ष राजेन्द्र यादवको भनाइ छ । यहाँ विसं २०७८ मा पशु सेवा केन्द्र भवन निर्माण सुरु भएको थियो ।

नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना तथा हरिहर भवन ललितपुरको आर्थिक सहयोगमा एसियाटिक वसन्त जेभीले भवन निर्माण गरेको हो । पशु सेवा केन्द्रको काम सम्पन्न गरेर २०७९ सालमा सुनवल नगरपालिकालाई हस्तान्तरण गरिएको थियो ।

सेवा केन्द्र सञ्चालनमा आएसँगै पशुको उपचारमा सहज हुने आशा जागेको स्थानीय हीरालाल यादवले बताउनुभयो । पशु चौपाया बिरामी हुँदा अब समयमै उपचार पाउनेमा आफूहरू विश्वस्त भएको स्थानीय जितबहादुर पौडेलले आशा व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया