पैँतिस खानेपानी आयोजनामा क्षति

  ३ घण्टा अगाडि

तनहुँ ४ मङ्सिर : तनहुँको भिमाद नगरपालिका क्षेत्रमा यस वर्षको बाढी र पहिरोले ३५ बढी खानेपानीमा क्षति पु¥याएको छ । गत असार, साउन र असोजमा आएको बाढी र पहिरोले साना ठूला गरी उक्त खानेपानी योजनामा क्षति बनाएको हो ।

नगरपालिकाले खानेपानी क्षेत्रमा विनियोजन गरेको करिब रु ५० लाख बजेटले नधानेपछि विकास निर्माणको बजेट खर्च गर्नुपरेको भिमादका नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कार्यपालिका बैठकबाट निर्णय गरी विकास बजेटबाट खानेपानी योजना मर्मतसम्भारका लागि खर्च गरिएको छ ।”

“विकास निर्माणको करिब रु २५ लाख खर्च गरिएको छ”, उहाँले भन्नुभयो, “खानेपानी संवेदनशील भएकाले खानेपानी योजना मर्मतसम्भार कार्यलाई प्राथामिकता दिइएको छ ।” उपभोक्तामार्फत नगरपालिकामा निवेदन आएपछि प्राविधिकले लागत अनुमान गरी अनुगमनपश्चात् मर्मतसम्भार कार्य गर्ने गरिएको नगरप्रमुख सुवेदीले बताउनुभयो । “नगरपालिकामा अहिले पनि चार÷पाँचवटा खानेपानी योजनाका निवेदन परेको छ”, उहाँले भन्नुभयो, “प्राविधिक खटाएर लागत अनुमानपश्चात् मर्मतसम्भारका कार्य अघि बढाउँछौ, अधिकांश योजनाको मर्मत कार्य भइसकेको छ ।”

जिल्लाका अन्य पालिकाको तुलनामा असार र साउनमा आएको बाढी र पहिरोले भिमाद नगरपालिका क्षेत्रमा धेरै क्षति बनाएको आकलन गरिएको नगरप्रमुख सुवेदीले बताउनुभयो । ठूला खानेपानी योजनामा रु आठ लाखदेखि १० लाख खर्च आइरहेको नगरपालिकाले जनाएको छ । “विकास निर्माणका भौतिक संरचना आउँदो वर्ष गरौँला”, नगरप्रमुख सुवेदीले भन्नुभयो, “नागरिकलाई खानेपानीबाट वञ्चित गर्नु हुँदैन भनेर नगरपालिका सक्रिय रुपमा लागिपरेको छ ।”

तपाईको प्रतिक्रिया