कोप २९ र पहिलो हप्ताका उपलब्धि

  मंसिर ०२, २०८१

राजन थापा

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप २९) २०२४ नोभेम्बर ११ देखि अजरबैजानको बाकुमा चलिरहेको छ । पहिलो हप्ताको अन्तिम दिनसम्म आइपुग्दा यो सम्मेलनमा के के भए त भन्ने सबैमा चासोको बढेको छ । ‘वित्तीय कोप’ भनेर चिनिएको सम्मेलन कुन दिशातिर जान्छ त्यो भने अब हुने वार्ता तथा छलफलले बताउने नै छ । कोप २९ मा कोप २८ को नतिजामा आधारित रणनीति अघि बढेका छन् । यस सम्मेलनमा जलवायु वित्तीय लक्ष्य, कार्बन बजारका लागि धारा ६ अन्तर्गतका नियमहरू, हानि तथा नोक्सानीको प्रतिक्रिया कोष र अनुकूलन लक्ष्यमा प्रगतिको मापनका मापदण्डहरू निर्माण मुख्य विषयको रुपमा रहेका छन् । साथै, एनडिसी, राष्ट्रिय अनुकूलन योजना (न्याप) र द्विवार्षिक पारदर्शिता प्रतिवेदन (बिटिआर) समयमा प्रस्तुत गर्ने महत्वाकांक्षालाई प्रोत्साहन दिन यस सम्मेलनको छलफलहरु केन्द्रित रहेका छन् ।

केही वर्षयता जलवायु परिवर्तनको असर प्रत्यक्ष रुपमा देखा पर्न थालेको छ । यसको एउटा ज्वलन्त उदाहरण उष्णतामा अस्वभाविक वृद्धि भएको छ । सन् २०२४ मा लगातार दोस्रो पटक सबैभन्दा तातो वर्ष हुने अनुमान गरिएको छ । विश्वभरि चरम मौसमी घटनाहरूको तीव्रता बढिरहेको छ । नेपाल, स्पेन र सहारामा विनाशकारी बाढीदेखि ब्राजिलको अमेजन वर्षावनमा भयावह आगलागी र अत्यधिक तापक्रम र खडेरी, यी र यस्ता जलवायु परिवर्तन को प्रभाव ले थप चुनौती सिर्जना गरेको अवस्था छ । कोप २९ को आयोजना यसै जटिल परिस्थिति र ठूला घटनाहरूको बीच भएको छ । राजनीतिक दृष्टिबाट हेर्दा विश्वमा बढी कार्बन उत्सर्जन गर्ने मुलुकहरुमध्ये एक अमेरिकामा चुनाव पनि पर्दछ । डोनाल्ड ट्रम्पको पुनःनिर्वाचनले पेरिस सम्झौताबाट फिर्ता हुने उनको योजनासहित अन्तर्राष्ट्रिय जलवायु वार्तामा ठूलो असर पार्न सक्ने कतिपयले अनुमान गरेका छन् । युएनएफसिसिसीबाट फिर्ता हुने सम्भावनाको चर्चा भए पनि, यो सजिलो हुने छैन ।

कोप २९ बाट के आशा गर्न सकिन्छ ?
कोप २९ लाई वातावरण क्रियाशील विश्वका व्यक्तिहरु मात्र नभई आम सर्वसाधारणले पनि निकै चासोपूर्वक हेरिरहेका छन् । विगतका सम्मेलनहरुको तुलनामा यसपटक केही उपलब्धिमूलक नै हुने आशा उनीहरुले गरेका छन् । यसपटक जलवायु वित्त, राष्ट्रिय रूपमा निर्धारित योगदान बढाउने पहल, क्षति र नोक्सानीको वित्तीय सहयोग, अनुकूलनका लागि प्रगति, कार्बन बजारहरूको सुदृढीकरणलगायतका केही उपलब्धिहरुको आशा गरिएको छ ।

जलवायु वित्त
जलवायु वित्त १९९२ देखि अन्तर्राष्ट्रिय जलवायु वार्ताको महत्ववपूर्ण मुद्दा रहँदै आएको छ । सन् २००९ मा भएको कोप १५ ले एक सय अर्ब अमेरिकी डलर वार्षिक प्रतिबद्धता तय गरेको थियो । तर, यो लक्ष्य सन् २०२० को समयसीमाभन्दा दुई वर्षपछि सन् २०२२ मा मात्र पूरा भएको थियो । तथापि यो विषयम अझै पनि एकमत भने भएको छैन । तसर्थ, विकासशील देशहरूको आवश्यकता र प्राथमिकतालाई ध्यानमा राख्दै जलवायु वित्तको लागि वार्षिक सय अर्ब अमेरिकी डलरको न्यूनतम् आधारबाट नयाँ सामूहिक परिमाणित लक्ष्यमा सहमति जनाउने अपेक्षा यसपटकको कोपबाट गरिएको छ । पहिलो हप्ताको अन्तिम दिनसम्मको प्रगतिलाई हेर्दा केही सकारात्मक प्रयास भएको देख्न सकिन्छ । पहिलो हप्ताको उपलब्धिको रुपमा नयाँ सामूहिक परिमाणित लक्ष्यको मस्यौदा पाठ बाहिर आएको छ । तर, अझै १० पृष्ठको दस्तावेजमा पुग्नु चुनौतीपूर्ण छ । अति कम विकसित र विकासशील देशहरूले वार्षिक एक दशमलब तीन ट्रिलियन अमेरिकी डलरको जलवायु वित्त प्रतिवद्धताको माग गरिरहेका छन्, जुन जलवायु कार्य लक्ष्यहरू पूरा गर्न र जलवायु परिवर्तनका बढ्दो प्रभावहरू सामना गर्न आवश्यक रहेको छ । त्यस्तै उनीहरूले वित्तीय लक्ष्यलाई अनुदानको आधारमा उपलब्ध गराउनुपर्ने माग राखेका छन् । यसमा नेपालको पनि साझा धारणा रहेको छ ।

महत्वाकांक्षी राष्ट्रिय रूपमा निर्धारित योगदान बढाउने पहल
कोप २९ चलिरहेको छलफलमा सबै राष्ट्रहरुलाई २०२५ सम्म महत्वाकांक्षी राष्ट्रिय रूपमा निर्धारित योगदान (एनडिसी) प्रस्तुत गर्न प्रोत्साहन गरिरहेको छ । प्रायः सबैजसो छलफलहरुले सबै देशहरूलाई २०२५ सम्म थप महत्वाकांक्षी एनडिसी प्रस्तुत गर्न प्रेरित गरिरहेको छ । सन् २०३० र २०३५ को नयाँ लक्ष्यसहित प्रस्तुत हुने एनडिसीले विश्वव्यापी तापक्रम वृद्धि १.५ डिग्रीमा सीमित गर्न सक्छ भन्ने विवरण यसअघिको कोपमा पनि प्रस्तुत भइसकेको छ ।

क्षति र नोक्सानीको वित्तीय सहयोग
यसपटक भइरहेको कोपले क्षति र नोक्सानीको कोष (एफआरएलडी) को कार्यान्वयनलाई प्राथमिकतामा राखेको छ । यो कोष सन् २०२५ सम्म आफ्नो पहिलो वित्तीय वितरण गर्ने योजनामा छ । तर, विकसित देशहरूले क्षति र नोक्सानीको वित्तीय सहयोगलाई नयाँ सामूहिक परिमाणित लक्ष्यमा समेट्न अनिच्छा देखाएका छन् । क्षति र हानि) का लागि कोष सञ्चालन गर्नु २०२३ मा दुबईमा सम्पन्न कोप २८ को सबैभन्दा ठूलो उपलब्धिमध्ये एक मानिएको थियो । यस हप्ता कोप २९ मा स्वीडेनले कोषका लागि थप १९ मिलियन अमेरिकी डलर प्रदान गर्ने प्रतिवद्धता जनाएको छ, जसले कोषमा प्रतिवद्ध कुल रकम ७२० मिलियन अमेरिकी डलरभन्दा बढी पु¥याएको छ । यस हप्ता कोषको बोर्ड र विश्व बैंकबीच ट्रस्टी सम्झौता र सचिवालय आतिथ्य सम्झौता साथै बोर्ड र आतिथ्य प्रदान गर्ने देश फिलिपिन्सबीच आतिथ्य देश सम्झौता समेत सम्पन्न भएको छ ।

अनुकूलनका लागि प्रगति
“ग्लोबल गोल अन एडाप्टेसन (जिजिए) सम्बन्धी छलफलहरू पेरिस सम्झौताका लक्ष्यहरू पूरा गर्नका लागि महत्वपूर्ण छन् । विशेषगरी जोखिमपूर्ण समुदायको लागि सहनशीलता निर्माण गर्ने र जोखिमको अवस्थाहरू घटाउने सन्दर्भमा पक्ष राष्ट्रहरूले जिजिए मापन गर्न स्पष्ट मापदण्डहरू र सूचकहरू निर्धारण गर्ने विषयमा छलफल गरिरहेका छन् । विशेष गरी वित्तीय स्रोतहरू निर्धारण गर्ने सूचकहरू समावेश गर्ने विषयमा निर्णय हुने आशा रहेको छ । साथै, यसै विषयमा समाबेश हिमालको मुद्दामा नेपालले अन्य हिमाली देशहरुसँग मिलेर आफ्नो प्रष्ट धारणा राखिरहेको छ ।

कार्बन बजारहरूको सुदृढीकरण
जसरी कोप २९वार्ता बाकुमा जारी छ, पेरिस सम्झौताको धारा ६ अन्तर्गत उल्लेखनीय प्रगति भएको छ । यसले कार्बन बजारहरूमा अन्तर्राष्ट्रिय सहकार्यका संयन्त्रहरूको व्यवस्था गर्दछ । धारा ६.४ अन्तर्गत विश्वको कार्बन बजारलाई सञ्चालनमा ल्याउने खाकाको स्वीकृति प्रमुख उपलब्धि भएको छ । यो संयन्त्रले पारदर्शिता बढाउने र कार्बन क्रेडिटहरूले वास्तवमा विश्वव्यापी उत्सर्जन कटौतीमा योगदान पु¥याएको सुनिश्चित गर्ने उद्देश्य राख्छ । यस निर्णयले क्योटो अभिसन्धिको पुरानो स्वच्छ विकास संयन्त्रलाई प्रतिस्थापन गर्दै उत्सर्जन कटौतीको लागि संयुक्त राष्ट्रसङ्घको निगरानीमा बलियो व्यापार प्रणालीको आधार तयार गर्छ । तथापि, यसभित्रका केही अन्य थुप्रै विषयहरुमा छलफलहरु निस्कर्षमा पुग्न अझै बाँकी छ ।

पारदर्शिता
द्विवार्षिक पारदर्शिता प्रतिवेदन (बिटिआर) ले देशहरूबीच विश्वास निर्माण गर्ने र तिनीहरूको आवश्यकताहरूको पहिचान गर्न सघाउने भएकाले यस्ता प्रतिवेदनलाई कसरी गुणस्तरीय बनाउन सकिन्छ भनेर छलफल अगाडि बढेको छ । त्यस्तै यही कुरालाई सम्बोधन गर्न अजरबैजानले पारदर्शिता प्रवद्र्धधन गर्न नयाँ डिजिटल प्लेटफर्म सुरू गरेको छ । कोप २९ का मुख्य विषयवस्तुहरूमा जलवायु वित्त, महत्वाकांक्षा, न्यायसङ्गत सङ्क्रमण, अनुकूलन र क्षति तथा नोक्सानी, तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सििएससम्म सीमित गर्नका लागि महत्वपूर्ण छन् । यसै लक्षमा सफलता प्राप्तिको लागि गएको कोपको अध्यक्ष, यस कोपका अध्यक्ष र आगामी वर्ष ब्राजिलमा हुने कोपका भावी अध्यक्षको सदस्यतामा गठित ट्रोइकाको मिसन १.५ डिग्री सेल्सिएसको रोडम्याप’ ले सामूहिक महत्वाकांक्षालाई जोड दिएको छ । (लेखक विश्व वन्यजन्तु कोषसँग आवद्ध हुनुहुन्छ )

तपाईको प्रतिक्रिया