साढे तीन करोड बराबरका पशुको निःशुल्क बिमा

  कार्तिक ३०, २०८१

दमौली (तनहुँ), ३० कात्तिक : म्याग्दे गाउँपालिमा रु साढे तीन करोड मूल्य बराबरको पशुधन बिमा गरिएको छ । गाउँपालिकाको पशु सेवा उपशाखाको स्वीकृत पशु बिमा प्रिमियममा २० प्रतिशत अनुदान कार्यक्रममार्फत एक सय ८० जना किसानले पालेका पशुको निःशुल्क बिमा गरिएको हो ।

पशु सेवा उपशाखा प्रमुख डा विनय शाहका अनुसार सात सय ७८ पशुको बीमा गरिएको छ । त्यसमध्ये दुई सय ५९ गाई, एक सय ३३ भैँसी, तीन सय ७० बाख्रा, १६ सुङ्गुर छन् ।

गाईभैँसीको कुल बिमा प्रिमियम शुल्क रु पाँच हजार हुने र रु पाँच हजारको ८० प्रतिशत शुल्क अर्थात् रु चार हजार सङ्घीय सरकारले बिमा कम्पनीलाई भुक्तानी गरेको छ । बाँकी २० प्रतिशत प्रिमियम गाउँपालिकाले किसानलाई बैंकिङ प्रणालीमार्फत उपलब्ध गराएको डा शाहले बताउनुभयो । “पशु बिमाका लागि किसानले कुनै रकम तिर्नुपर्दैन । ८० प्रतिशत रकम सङ्घ सरकारबाट र २० प्रतिशत रकम गाउँपालिकाले व्यहोर्ने गरेको छ”, उहाँले भन्नुभयो ।

पशुधनको बिमाबापत गाउँपालिकाले रु तीन लाख ५२ हजार एक सय ३१ खर्च गरेको शाहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पशुको बिमा कार्यक्रममा सहभागी हुन निवेदन माग गरिएको थियो । जसमध्ये एक सय ८० किसानले निवेदन दिएको र निवेदक दिएका किसानले पालेका करिब रु तीन करोड ५० लाख बराबरको पशुधनको निःशुल्क बिमा गरिएको छ ।”

पशुधन बिमा गरेपछि पशुको मृत्यु भएमा पशुपालक किसानले क्षतिपूर्ति दाबी गर्न सक्नेछन् । त्यसको लागि पशु मरेको १५ दिनभित्र सम्बन्धित स्थानीय सदस्य संस्थामार्फत क्षतिपूर्ति दाबीपत्र भरी दाबी गर्नुपर्ने हुन्छ । क्षतिपूर्ति दाबी गर्दा सम्पूर्ण कागजात सङ्लग्न गरी दाबी गरेमा उल्लेखित कर्जा रकमको ८० प्रतिशत रकम (सुरक्षण बराबर) सम्बन्धित पशुपालक किसानलाई दिनुपर्ने प्रावधान छ ।

तपाईको प्रतिक्रिया