इरान संयुक्त राष्ट्रसङ्घका आणविक प्रमुखसँग ‘अस्पष्टताहरू’ समाधान गर्न इच्छुक

  कार्तिक २९, २०८१

तेहरान, २९ कात्तिक (रासस/एएफपी) : इरानी राष्ट्रपति मसुद पेजेस्कियानले बिहीबार अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पको कार्यालयमा आउनुभन्दा पहिले आफ्नो आणविक कार्यक्रमबारेमा शङ्का समाधान गर्न इच्छुक रहेको बताउनुभएको छ ।

राष्ट्रपति पेजेस्कियानले इरान भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घीय आणविक वाचडगका प्रमुख राफेल ग्रोसीलाई सो कुरा बताउनुभएको हो ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का प्रमुख ग्रोसीले गाजामा हमास र लेबनानमा हिजबुल्लाह विरुद्धको इजरायलको युद्धले पहिले नै भड्काएको क्षेत्रमा नयाँ द्वन्द्वबाट बच्न इरानसँगको आणविक वार्तामा ‘परिणाम’ प्राप्त गर्नु महत्त्वपूर्ण रहेको बताउनुभयो ।

उहाँको भ्रमण इजरायली रक्षामन्त्री इजरायल काट्जले इरानका आणविक सुविधाहरूमा आक्रमण गर्ने ‘अवसर’ दिइएको भनेको केही दिनपछि भएको हो ।
“हामीले बारम्बार हाम्रो सद्भावना प्रमाणित गरिसकेका छौँ, हामी हाम्रो देशको शान्तिपूर्ण आणविक गतिविधिका बारेमा कथित अस्पष्टता र शङ्का समाधान गर्न यस अन्तर्राष्ट्रिय सङ्गठनसँग सहयोग र अभिसरण गर्न हाम्रो तयारीको घोषणा गर्दछौँ”, पेजेस्कियानले ग्रोसीलाई भन्नुभयो ।

इरानप्रति कडा दृष्टिकोण राख्ने ट्रम्पले जनवरीमा पदभार सम्हालेपछि इजरायललाई अझ शक्तिशाली अधिकार दिने अपेक्षा गरिएको छ ।

तेहरानमा ग्रोसीले इरानी आणविक प्रतिष्ठानहरूमा ‘आक्रमण गर्नुहुँदैन’ भन्नुभयो ।

ग्रोसीसँगको भेटमा विदेशमन्त्री अब्बास अराघचीले इरान ‘राष्ट्रिय हित’ र ‘अपरिहार्य अधिकार’ का आधारमा ‘वार्ता गर्न इच्छुक’ रहेको तर ‘दबाब र धम्कीमा वार्ता गर्न तयार’ नभएको बताउनुभयो ।

अराघची सन् २०१५ मा महत्त्वपूर्ण आणविक सम्झौतामा इरानको प्रमुख वार्ताकार हुनुहुन्थ्यो । उक्त सम्झौतालाई ट्रम्पले तीन वर्षपछि त्याग्नुभएको थियो ।

– तत्काल प्रतिकार –

ग्रोसीले इरानको आणविक ऊर्जा सङ्गठनका प्रमुख मोहम्मद इस्लामीलाई पनि भेट्नुभयो ।

इस्लामीले संयुक्त पत्रकार सम्मेलनमा इरानले आइएइएको बोर्ड अफ गभर्नरबाट कुनै पनि प्रतिबन्धको विरुद्धमा ‘तत्काल प्रतिकार’ गर्ने बताउनुभयो ।

“इस्लामिक गणतन्त्र इरानको आणविक मामिलामा कुनै पनि हस्तक्षेपवादी प्रस्तावले निश्चित रूपमा तत्काल प्रतिकारको सामना गर्नुपर्नेछ”, उहाँले भन्नुभयो ।

ग्रोसीको भ्रमण यस वर्ष तेहरानमा यो दोस्रो भए पनि ट्रम्पको पुनः चुनावपछि पहिलो हो ।

सन् २०१७ देखि सन् २०२१ सम्म ह्वाइट हाउसमा आफ्नो पहिलो कार्यकालमा ट्रम्पले ‘अधिकतम दबाब’ नामक नीति अपनाउनुभयो । यसले सन् २०१५ को सम्झौताअन्तर्गत हटाइएको अमेरिकी आर्थिक प्रतिबन्धहरूलाई पुनः लागु गर्यो ।

– समाधान खोज्न आवश्यक –

जवाफमा इरानले बिस्तारै सम्झौताअन्तर्गत आफ्नो प्रतिबद्धता फिर्ता लिन थालेपछि ऊमाथि तीन दशमलव ६५ प्रतिशतभन्दा माथि युरेनियम संवर्धन गर्न प्रतिबन्ध लगाइयो ।

इरानले आफ्नो युरेनियम भण्डार ६० प्रतिशतसम्म विस्तार गरेको छ । यो आणविक हतियारका लागि आवश्यक ९० प्रतिशत स्तरको धेरै नजिक भएकाले यसले अन्तर्राष्ट्रिय चेतावनी निम्त्याएको छ ।

इरानले गतिरोधका लागि आगामी अमेरिकी राष्ट्रपतिलाई दोष दिएको छ । “सम्झौताबाट बाहिरिने व्यक्ति इरान होइन, अमेरिका थियो”, सरकारका प्रवक्ता फातेमा मोहाजेरानीले बुधबार भन्नुभयो, “श्री ट्रम्पले एक पटक अधिकतम दबाबको बाटो खोज्नुभयो र यो बाटोले काम नगरेको देख्नुभयो ।”

जनवरीमा ह्वाइट हाउसमा ट्रम्पको पुनरागमनले यस वर्षको सुरुमा कट्टर शत्रुहरूले अभूतपूर्व प्रत्यक्ष आक्रमणहरू आदानप्रदान गरेपछि इजरायल र इरानबीचको पूर्ण द्वन्द्वको अन्तर्राष्ट्रिय डर मात्र बढाएको छ ।

“व्यवहारका लागि मार्जिन सङ्कुचित हुन थालेको छ”, ग्रोसीले मङ्गलबार एएफपीसँगको अन्तर्वार्तामा चेतावनी दिँदै भन्नुभयो, “कूटनीतिक समाधानमा पुग्ने तरिकाहरू खोज्न आवश्यक छ ।”

– धार्मिक आदेश –

ग्रोसीले इरानसँग हाल आणविक हतियार नभएको तर धेरै समृद्ध युरेनियम रहेको भन्दै यसलाई अन्ततः एउटा आणविक हतियार बनाउन प्रयोग गर्न सकिने बताउनुभयो ।

पश्चिमसँगको सम्बन्ध सुधार गर्न र सन् २०१५ को सम्झौतालाई पुनर्जीवित गर्ने मञ्चमा पेजेस्कियानले जुलाईमा चुनाव जित्नुभएको थियो ।

तर आणविक सम्झौतालाई ‘लाइफ सपोर्ट’ बाट मुक्त गर्ने सबै प्रयास असफल भएका छन् ।

हालैका वर्षहरूमा तेहरानले आफ्नो आणविक कार्यक्रमको निगरानी गर्न प्रयोग गरिने निगरानी उपकरणहरू बन्द गरेको छ र आइएइए निरीक्षकहरूलाई प्रभावकारी रूपमा प्रतिबन्ध लगाएको छ ।

ग्रोसीले इरानको आणविक कार्यक्रमको ‘पूर्ण तस्वीर’ लिन शुक्रबार फोर्डो र नातान्जमा रहेको युरेनियम संवर्धन संयन्त्रको भ्रमण गर्ने बताउनुभयो ।

यस कार्यक्रमको आधार सन् १९५० को दशकको अन्त्यतिरको हो । त्यसबेला संयुक्त राज्य अमेरिकाले पश्चिमी समर्थित शाह मोहम्मद रेजा पहलवीसँग नागरिक सहयोग सम्झौतामा हस्ताक्षर गरेको थियो ।

सन् १९७० मा इरानले आणविक हतियारहरूको अप्रसार सम्बन्धी सन्धि अनुमोदन गरेको थियो । सन्धिमा हस्ताक्षर गर्ने राष्ट्रहरूले आफ्नो आणविक सामग्रीहरू आइएइए नियन्त्रणमा घोषणा गर्न र राख्न आवश्यक छ ।

तर इरानले आफ्नो पछिल्लो क्षेप्यास्त्र आक्रमणका लागि इजरायललाई जवाफ दिने धम्की दिँदै केही सांसदहरूले आणविक बम विकास गर्न आफ्नो आणविक सिद्धान्तलाई संशोधन गर्न सरकारलाई आह्वान गरेका छन् ।

उनीहरूले इरानमा अन्तिम अधिकार राख्ने सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई आफ्नो लामो समयदेखि रहेको धार्मिक आदेश वा आणविक हतियारहरू प्रतिबन्धित गर्ने फतवामा पुनर्विचार गर्न आह्वान गरेका छन् ।

तपाईको प्रतिक्रिया