ब्राजिलको सर्वोच्च अदालत नजिकै विष्फोट, एक जनाको मृत्यु

  कार्तिक २९, २०८१

ब्रासिलिया, ब्राजिल, २९ कात्तिक (रासस/एएफपी) : ब्राजिलको सर्वोच्च अदालत नजिकै स्थानीय समय अनुसार बुधबार भएको ‘आत्मघाती आक्रमण’मा विस्फोटक पदार्थ बोकेका एक व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जी–२० शिखर सम्मेलनको तयारी भइरहेका समय सम्मेलन हुनुभन्दा केही दिनअघि उक्त आक्रमण भएको हो ।

ब्रासिलियाका उपराज्यपाल सेलिना लेओले प्रारम्भिक जानकारीअनुसार यो ‘आत्मघाती’ आक्रमण प्रयास थियो । उहाँले भन्नुभयो, “अदालत नजिकैको नजिकैको कारमा विस्फोट भएको र केही सेकेन्डपछि उक्त व्यक्ति बाहिर निस्केको देखिएको बताउनुभएको छ ।

“आक्रमणकारी कारमा बसेर सङ्घीय सर्वोच्च अदालतमा पुगी प्रवेश गर्ने प्रयास गरेको तर सुरक्षा सतर्कताका कारण प्रवेश गर्न असफल भएको र पछि प्रवेशद्वारमा विस्फोट भएको थियो,” लेओले भन्नुभयो ।

“आक्रमणबाट ‘अन्य कसैलाई पनि चोट पटक लागेको छैन,”उहाँले भन्नुभयो ।

उहाँले भन्नुभयो, “मृतकलाई विस्फोटक उपकरणसहित रहेको अवस्थामा घटनास्थलबाट सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।”

सङ्घीय प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आक्रमणको अनुसन्धानका लागि प्रहरी अनुसन्धान सुरु गरिनेछ ।”

अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी चिनफिङसहित विश्वका नेताहरूको सहभागितामा आगामी सोमबारदेखि सुरु हुने जी–२० शिखर सम्मेलनको पूर्वसन्ध्यामा अधिकारीहरूले देशमा सुरक्षा व्यवस्था कडा पारिसकिएको बताएका छन् ।

राष्ट्रपति सी बुधबार ब्राजिलियाको राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

सर्वोच्च अदालतले एक विज्ञप्ति जारी गर्दै बुधबारको सत्रको अन्त्यमा दुईवटा विष्फोट भएको र न्यायाधीशहरुलाई सकुशल बाहिर निकालिएको जनाएको छ ।

अदालत प्राका डोस ट्रेस पोडेरेसमा अवस्थित छ, जुन राष्ट्रपति भवन र कंग्रेसको पनि अगाडि रहेको छ ।

राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा विस्फोटको समयमा राष्ट्रपति कार्यालयमा नभएको बताइएको छ ।

ब्राजिलका सोलिसिटर जनरल जर्ज मेसियासले आक्रमणको निन्दा गर्नुभएको छ ।

उहाँले एक्समा लेख्नुभएको छ, “हामीले आक्रमणको पछाडिको प्रेरणालाई बुझ्न आवश्यक छ, साथै जतिसक्दो चाँडो शान्ति र सुरक्षा पुनः स्थापना गर्न आवश्यक छ।”

राष्ट्रपति भवन सिल गरिएको छ र प्लाजाको वरिपरि ठूलो सङ्ख्यामा प्रहरी तैनाथ गरिएको छ ।

बोल्सोनारोका सल्लाहकार फाबियो वाजनगार्टनले यस घटनालाई लिएर सामान्यीकरण नगर्न चेतावनी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया