जैविक विविधता संरक्षण गर्ने नेपालको प्रतिबद्धता

  ३ घण्टा अगाडि

काठमाडौँ, १५ कात्तिक : वन तथा वतावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जैविक विविधता संरक्षण गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ ।

कोलम्बियाको कालीमा हालै सम्पन्न जैविक विविधतासम्बन्धी सम्मेलनमा उहाँले नेपालले वन पुनःस्थापना, बाघको सङ्ख्या तेब्बर र सङ्कटापन्न धेरै जीवजन्तुको संरक्षणमा उल्लेखनीय प्रगति गरेको जानकारी गराउनुभयो ।

‘दिगो वित्त, वित्तीय प्रणाली सुधार र जैविक विविधताप्रतिको विश्वव्यापी जिम्मेवारी’ विषयक सत्रलाई सम्बोधन गर्दै मन्त्री शाहीले भन्नुभयो, “नेपालले पृथ्वीको केवल ०.१ प्रतिशत क्षेत्र समेटेको भए पनि नेपाल विश्वको २.७ प्रतिशत जैविक विविधताको घर हो । जसले यसलाई जैविक विविधतामा ४९औँ स्थानमा राख्छ । यी उपलब्धिहरू विशेष गरी महिला, आदिवासी जनजाति र स्थानीय समुदायको सहकार्यको परिणाम हुन्, उनीहरुको योगदान र बेहोरेको लागतलाई कम आकलन गर्नुहुँदैन ।”

समुदाय–आधारित संरक्षण दृष्टिकोणमार्फत, नेपालले जैविक विविधता संरक्षणको लागि प्रतिवर्ष १५२ मिलियन अमेरिकी जुटाएको जानकारी दिनुभयो । “तर, यो हाम्रो जैविक विविधता दृष्टिकोणको उद्देश्य प्राप्त गर्न पर्याप्त छैन । हामी प्रतिवर्ष ८० मिलियन अमेरिकी डलरको वित्तीय अभावको सामना गरिरहेका छौँ । यो अभाव मेट्न हामी विभिन्न दिगो वित्तीय संयन्त्रहरू कार्यान्वयन गरिरहेका छौँ, मन्त्री शाहीले उल्लेख गर्नुभयो ।

सन् २०२५ सम्म जैविक विविधता संरक्षणका लागि प्रतिवर्ष २० अर्ब अमेरिकी डलर उपलब्ध गराउने विश्व समुदायको प्रतिबद्धताको प्रशंसा गर्दै उहाँले त्यो प्रतिबद्धता कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले जैविक विविधता संरक्षणका योजना कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय समुदायको सहयोग अपरिहार्य भएको बताउनुभयो ।

राष्ट्रसङ्घीय उक्त सम्मेलनमा सहभागी एक सय ९० देशका प्रतिनिधिले जैविक विविधता संरक्षणसम्बन्धी अभिसन्धिमा हस्तारक्षर गरेका थिए । हरेक दुई वर्षमा यो सम्मेलन हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया