‘बाढीपहिरो त रोकियो, गाउँमा बस्न सक्ने अवस्था छैन’

  कार्तिक १४, २०८१

पाँचथर, १४ कात्तिक : फालेलुङ गाउँपालिका–३ लुङपिन्ताङका चुडामणि तिम्सिनाको घर अगाडिबाट झरेको पहिरो झन्डै एक किलोमिटर तल रहेको हेंवा खोलासम्म पुगेको छ । पहिरोले उहाँका दुई छोरासहित १३ परिवार गाउँलेको खेतबारी बगाएको छ । गत असोज १२ गते बिहानको पहिरोले तिम्सिनाको परिवारसहित यी सबै घरपरिवार फालेलुङ गाउँपालिकाको सेवा केन्द्र थकेपुङमा बसेर हालै भर्खरै घर फर्किएका छन् ।

असोज ९ गतेदेखि नै वर्षा हुनाका साथै हेंवा खोलामा आएको बाढीले असोज १२ गते बिहान गाउँ नै हल्लाइरहेको थियो । सोही विहान जमिन धाँजा फाट्न थालेका कारण गाउँलेहरु सचेत भए । बिहान गाईवस्तु सार्नलाई किलो काट्दै गर्दा गाउँपालिकाबाट नेपाल प्रहरी आएर घुर्चिएर लगेकाले आफू बचेको तिम्सिना बताउनुहुन्छ । “गाउँले आएर गाईवस्तु सारिदिएछन्”, उहाँले भन्नुभयो ।

वर्षा र पहिरो त रोकियो तर, गाउँमा बस्न सक्ने अवस्था भने छैन् । लुङपिन्ताङमा सबैतिर धाँजा फाटेका छन् । कसैको घर लच्किएका छन्, कसैको खेतबारी । “एकछिन हिउँदभरि मात्रै हो, बर्खामा यहाँ बस्न सकिँदैन्”, सरकारले केही गरिदेओस् भन्ने आशा गर्दै तिम्सिनाले भन्नुभयो, “हेरौँ अब सरकारले के गर्छ रु यहाँ बस्न सक्ने अवस्था छैन । डर त लाग्छ नि, अन्यत्र सर्ने ठाउँ छैन ।”

पूर्वी पहाडमा विसं २०२५ सालमा बाढीपहिरो आएको बूढापाका बताउँछन् । ७३ वर्षका तिम्सिनाले सो बाढीपहिरो प्रत्यक्ष देख्नुभयो । अहिले सडकको छेउमा रहेको घर नजिकैबाट उक्त पहिरो गएको तर अहिलेजस्तो धेरै क्षति नभएको तिम्सिनाको सम्झना छ । “मेरो पालि (मतान) बगाएको थियो”, उहाँले भन्नुभयो, “यस पटक गाउँ केही नरहने गरी पहिरो झर्‍यो ।”

पहिरोले दिएको पीडा यति मात्रै छैन । तिम्सिना दम्पतीसँगै रहेका छोराका १० र ४ वर्षका बालबच्चा थिए । बूढेसकालमा बोलाउने र मन भुलाउने नातिनातिनी पहिरोपछि झापा झरेका छन् । “जाने कुरै थिएन । फेरि पहिरो आयो भने साना भागेर बचाउन कठिन हुने भएपछि बुहारीले झापा लिएर गइनँ”, तिम्सिनाले भन्नुभयो, “छोरो चाहिँ विदेशमा छ ।”

सोही वडाको शीतलपाटीको अवस्था झनै भयाबह छ । हेंवा खोला नजिकैको यस गाउँमा १० परिवारको बसोबास छ । यहाँ यत्रतत्रमा पहिरो झरेको छ । सबैका घर लच्किएका छन् । कसैका भत्किएका छन् । पाक्न लागेको बालीनालीमा क्षतविक्षत भएको छ । घरमुनि सामुन्नेमा देखिने हेंवा खोलाले धेरै जमिन खण्डहर बनाएको छ । वर्षा रोकिएपछि गाउँ फर्किएका गाउँलेहरु अर्को बर्खामा कहाँ गएर ज्यान जोगाउने भन्ने पीरमा देखिन्छन् ।

यहाँकी नरमाया लिम्बूको घर र खेतबारी फरक–फरक ठाउँमा छन् । पहिरोले खेतबारी सबै बगाएपछि अब के खानेभन्ने पीरलो लिम्बूमाथि आइलागेको छ । श्रीमान्को निधनपछि आमाछोरा बस्दै आएका लिम्बूको पाक्न लागेको धानखेत पहिरोले बगाएको छ । “हामी त धेरै पीडित भयौँ, वडामा गएर निवेदन दिएका छौँ”, लिम्बूले भन्नुभयो, “केही त सहयोग पाइएला कि ।”

फेदाङ्वा (झाँक्री) समेत रहनुभएका मानबहादुर केरुङको घरमा असोज १२ गतेअघि छोरीतर्फका एक नाति र एकजना भतिजा बस्दै आएका थिए । चारजना छोरीमात्रै भएका मानबहादुरका सबैजना छोरीहरु विवाह गरेर घर गएपछि भतिजा र नाति सहारा थिए । तर असोज १२ गते उहाँको घर वरिपरि पहिरो झरेपछि परिवार नै विस्थापित भई नजिकैको मच्छेबुङमा विद्यालयमा शरण लिएर बस्यो । वर्षा रोकिएपछि मानबहादुर र उहाँकी श्रीमती सुखमाया त घर फर्केर आउनुभयो, भतिजा र नाति पहिरोको डरले आ–आफ्नो घरतर्फ लागे ।

यहाँ (शीतलपाटीमा) पहिरोले समस्या हुने भयले भतिजो र नातिलाई आ–आफ्नो घर पठाएको मानबहादुर बताउनुहुन्छ । “हामी बूढाबूढी त अन्त जानलाई आर्थिक छैन । आर्थिक नभएपछि के गर्ने त ? वर्तिरपर्तिर भाग्यो, बस्यो”, निराश हुँदै ७० वर्षका मानबहादुरले भन्नुभयो, “त्यस्तै त होला नि अब । झापा झरौँ भने पैसा छैन ।”

पहिरोका कारण घरमा बस्न नसकिने भएपछि यहाँका युवा शर्णकुमार केरुङको परिवार विस्थापित भई मच्छेबुङमा बस्न थालेको छ । “दश घरपरिवारमा कुनै न कुनै क्षति भएको छ । यहाँ बसेका सबैजना बाहिर निस्कने योजनामा छौँ”, छिमेकीहरुलाई मद्दत गर्दै आउनुभएका शर्णकुमारले भन्नुभयो, “बर्खायाममा बस्न नसकिने सबैको निष्कर्ष छ । कसैको पनि कमाई लगाएर खाने स्थिति छैन ।”

उक्त गाउँलाई चारैपट्टिबाट पहिरोले घेरेको छ । कुनै पनि घरहरु सग्ला भेटिँदैनन् । यत्रतत्र पहिरो झरे पनि स्थानीयवासीको चलाखीले मानवीय क्षति भने हुन नपाएको शर्णकुमारको भनाइ छ । “खोला ठूलो आएपछि सबै गाउँले भेला भएर सबैतिर हे¥यौँ । पहिरो जान्छ भन्ने यकिन भएपछि समयमै सचेत हुँदा बाँच्न सफल भयौँ”, शर्णकुमारले भन्नुभयो । सो स्थानबाट दुई घर बसाइँ सरेर अन्यत्र गइसकेका छन्भने शर्णकुमार र उहाँका भाइ नजिकै मच्छेबुङमा बसेका छन् ।

भान्साघर बगाउनाका साथै घर पहिरोको जोखिममा भएपछि काइलो छोराको घरमा शरण लिएर बस्दै आएका खड्गबहादुर केरुङ उमेरले ६९ पुग्नुभयो । “एकछिन त जीउ जोगाउनु प-यो होला नि । उता पनि पानी, यता पनि पानी । सबैतिर पहिरो झरेको छ”, खड्गबहादुरले थप्नुभयो, “भगवान्ले यस्तै गरिल्याए । कति दिन यसरी बाँच्नुपर्ने हो थाहा छैन ।”

फालेलुङ गाउँपालिका–३ का लुङपिन्ताङ र शीतलपाटी जस्तै सोही गाउँपालिका–४ का चेम्फुवा, खुर्बुक, गैरीगाउँ, गुरुङटार र तालखर्क, वडा नं ५ का लुङ्मादिन, सिरिसे, लुदिन र फेङ्लिटार, वडा नं ६ का ठाडे, नाम्ले र खोलाघारी गाउँ पहिरोको अत्यधिक जोखिममा परेका छन् । फेङ्लिटारका एक दर्जनभन्दा बढी परिवार अझैसम्म विस्थापित भई अन्यत्रै बस्दै आएका छन् ।

फालेलुङ गाउँपालिकाका अध्यक्ष वीरविक्रम थाम्सुहाङका अनुसार सबै वडामा गरेर ७० घरमा पूर्ण क्षति भएको छभने दुई सय ९३ घरमा आंशिक क्षति पुगेको छ । बाढीपहिरोले फालेलुङमा भौतिक तथा कृषि क्षेत्रमा अत्यधिक क्षति भएको उहाँले बताउनुभयो । यहाँका अधिकांश विस्थापित घर फर्किन थालेका छन् । तर कतिपय विस्थापित भने यहाँबाट बसाइँ सर्न थालेका छन् । अध्यक्ष थाम्सुहाङले भन्नुभयो, “सबैलाई केही समय नआत्तिन आग्रह गर्दै आएको छु । तर गाउँ विरक्तलाग्दो भएपछि कसको मन अडिनु र ?” अत्यधिक प्रभावित बस्ती स्थानान्तरण गर्नुको विकल्प नरहेको उहाँको भनाइ छ ।

“अहिलेसम्म विस्थापितहरुलाई सुरक्षित स्थानसम्म पुर्‍याउन हामी लागिपरेका थियौँ । अब दीर्घकालीन समाधानबारे सोच बनाउन थालेका छौँ”, अध्यक्ष थाम्सुहाङले भन्नुभयो, “गाउँपालिकाले मात्रै त के गर्न सकिएला र ? प्रदेश र सङ्घीय सरकारसँग सहयोग मागेर जोखिममा रहेका बस्तीलाई एकीकृत बस्ती निर्माण गरी स्थानान्तरण गर्नुको विकल्प छैन ।” यसका यसका लागि पालिकास्तरमा छलफल चलिरहेको गाउँपालिका उपाध्यक्ष महेन्द्रहाङ जबेगू बताउनुहुन्छ । बाढीपहिरोका कारण यस गाउँपालिकामा कालोपत्रसहित ग्रामीण सडक क्षतविक्षत भएका छन् । खानेपानी, सिँचाइ, विद्युत्, विद्यालय, स्वास्थ्य संस्थालगायत संरचनामा समेत क्षति पुगेको गाउँपालिकाले जनाएको छ । (रासस)

तपाईको प्रतिक्रिया