जाडो बढे पनि पर्वतमा डेङ्गीका बिरामी घटेनन्

  ४ घण्टा अगाडि

पर्वत, १० कात्तिकः जाडोयाम सुरु भए पनि यस वर्ष जिल्लामा डेङ्गीका बिरामी घटेका छैनन् । आवश्यक सावधानी नअपनाउँदा गत वर्षभन्दा यस वर्ष सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय ८९ ले बढेको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख प्रवीण शर्माका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष साढे पाँच सय प्रतिशतभन्दा बढी व्यक्तिमा सङ्क्रमण भइसकेको छ । गत वर्ष दुई सय २५ मा सङ्क्रमण देखिएकामा यस वर्षको हालसम्म एक हजार पाँच सय १४ जना सङ्क्रमित भइसकेको उहाँले जानकारी दिनुभयो ।

अहिले पनि जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा आउने बिरामीमा सङ्क्रमण पुष्टि भइरहेकाले सङ्क्रमितको सङ्ख्या अझै बढ्ने प्रमुख शर्माले बताउनुभयो । जाडो मौसम भए पनि बिरामीको सङ्ख्या बढिरहेको भन्दै डेङ्गी र मौसमी फ्लूका बिरामीले अहिले अस्पताल भरिभराउ बनेका उहाँले उल्लेख गर्नुभयो ।

स्वास्थ्य कार्यालयका प्रमुख शर्माका अनुसार सङ्क्रमितमध्ये सबैभन्दा बढी कुश्मा नगरपालिकामा एक हजार एक सय ७१ जना छन् । यो कूल सङ्क्रमितको ८२.८१ प्रतिशत हो । त्यस्तै फलेवास नगरपालिकामा ७५, मोदी गाउँपालिकामा ४८, जलजला गाउँपालिकामा २३ जना, पँैयु गाउँपालिकामा सात, विहादी गाउँपालिकामा सात, महाशीला गाउँपालिकामा चार र बाँकी अन्य जिल्लाबाट आएकामा सङ्क्रमणको पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।

लामखुट्टेको टोकाइ बढ्दै जाँदा डेङ्गीको जोखिम पनि बढ्दै जाने भएकाले सचेत हुन स्वास्थ्य कार्यालय पर्वतले अनुरोध गरेको छ । लामखुट्टेको टोकाइबाट बच्न आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडा लामखुट्टे नछिर्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप बाल्ने र मलम लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, झुल लगाएर मात्र सुत्ने, पूरै शरीर ढाक्नेगरी लुगा लगाउनुपर्ने चिकित्सकहरुको सुझाव छ ।

अस्पतालमा परीक्षण गरिएको तथ्याङ्कबाहेक निजी अस्पताल र क्लिनिकहरुमा पनि उल्लेख्य सङ्ख्यामा सङ्क्रमित फेला परेको जानकारी प्राप्त भइरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बास्तोलाले बताउनुभयो । डेङ्गीसँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीको दैनिक चाप बढ्दै गएको भन्दै जटिल प्रकृतिका बिरामीको मात्र परीक्षण गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

डा बास्तोलाका अनुसार दैनिक २० देखि ३० जना सङ्क्रमित भेटिएका छन् । सरकारले उपलब्ध गराएको डेङ्गी परीक्षण किट सकिएर अहिले आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएकाले जटिल लक्षण देखिएका बिरामीको मात्रै परीक्षण गर्न थालिएको उहाँले बताउनुभयो । बिरामी बढेकाले अस्पताललाई आर्थिक भार बढेको उहाँले बताउनुभयो ।

अधिकांश बिरामीले निजी मेडिकलबाट औषधि किनेर खाने गरेका औषधि व्यवसायीहरुले बताएका छन् । लक्षण देखिएका सबै बिरामी अस्पताल जाने सङ्क्रमितको सङ्ख्या अझै वृद्धि हुने व्यवसायीहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया