जलवायु न्यायका लागि संवेदनशील बन्न उपप्रधानमन्त्री पौडेलको आग्रह

  ३ घण्टा अगाडि

काठमाडौँ, ८ कात्तिक : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु वित्तका क्षेत्रमा सहायता परिचालन गर्न स्थापित विश्वव्यापी वित्तीय कोषहरुको परिचालन प्रणालीलाई सरल र पहुँचयोग्य बनाउन विश्व समुदायसँग आग्रह गर्नुभएको छ ।

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकअन्तर्गत संयुक्त राज्य अमेरिकामा आज आयोजित उच्चस्तरीय मन्त्रिस्तरीय बैठकमा उहाँले जलवायु न्यायका लागि विकास साझेदार र सिङ्गो अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवार र संवेदनशील बन्न आग्रह गर्नुभएको हो ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलले नेपाल विश्वमै अद्वितीय जैविक विविधतायुक्त मुलुक रहेको भएता पनि पछिल्लो समय मानव सिर्जित कारणहरुले प्राकृतिक विपत्तिको सामना गर्नु परिरहेको र यसका लागि थप वित्तीय स्रोत व्यवस्थापनको चुनौती रहेको धारणा राख्नुभएको अर्थसचिव डा रामप्रसाद घिमिरेले राससलाई जानकारी दिनुभयो ।

अर्थमन्त्रीले जलवायु परिवर्तका क्षेत्रमा नेपालको योगदान नगण्य रहेको भएतापनि जलवायु परिवर्तनको प्रतिकूल प्रभावको अंश ठूलो रहेको बताउनुभयो । उहाँले जलवायु न्यायका लागि स्थापित हानि नोक्सानी तथा क्षतिपूर्ति कोपलाई प्रभावकारी रूपमा सञ्चालन गर्न समेत विश्व समुदायलाई आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया