सम्पत्ति कर वृद्धि नगर्न पोखरिया नगरपालिकालाई ज्ञापनपत्र

  १३ घण्टा अगाडि

वीरगञ्ज (पर्सा), ५ कात्तिक : राष्ट्रिय मुक्ति क्रान्ति नेपालले सम्पत्ति कर वृद्धि नगर्न माग गर्दै पोखरिया नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

राष्ट्रिय मुक्ति क्रान्ति नेपालका केन्द्रीय सदस्य नेजामुद्दिन शमानीसहित गएको टोलीले आज पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानलाई ज्ञापनपत्र बुझाउँदै सम्पत्ति कर वृद्धि गर्ने निर्णय कार्यान्वयन नगराउन माग गरेका हुन् ।

केन्द्रीय सदस्य शमानीले नगरपालिकाले सम्पत्ति कर वृद्धि गर्ने निर्णय अबिलम्व फिर्ता गर्नुपर्ने माग गर्नुभएको छ । ‘‘यहाँ सेवा विस्तार नगरी पूर्व नगर प्रमुखको पालामा सम्पत्ति कर लगाइयो । रु तीन सय लाग्ने दस्तुर अहिले एक हजार पाँच सयदेखि पाँच हजारसम्म बढाइएको छ ।’’ ज्ञापनपत्रमा भनिएको छ, ‘‘देशमा आर्थिक सङ्कट भएको बेलामा सम्पत्ति कर बढाउनु उपयुक्त हुँदैन ।’’

केन्द्रीय सदस्य शमानीसहितको टोलीले नगरप्रमुखलाई बुझाएको ज्ञापनपत्रमा सात बुँदे माग समावेश गरिएको छ । सो ज्ञापनपत्रमा कर्मचारीलाई समयमा तलब उपलब्ध गराउनुपर्ने, नगरपालिकाभित्र भइरहेको ठगी धन्दा बन्द गर्नुपर्ने लगायतका माग छन् ।

निर्माण सम्पन्न गरेका कम्पनीलाई भुक्तानी दिनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । नगर विस्तारमा जग्गाधनी तथा खरिद कर्ताको जग्गा दिनु पर्ने, स्वास्थ्य बिमा गराएकाहरूलाई औषधि उपलब्ध गराउनुपर्ने माग राखिएको छ ।

पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले भूमिसुधार तथा मालपोत कार्यालयको सिफारिसअनुसार नै नगरपरिषद्मा छलफल गरेर सम्पत्ति कर वृद्धि गरेको बताउनुभयो । ‘‘मालपोत कार्यालयको सिफारिसलाई नगर परिषद्को बैठकबाट पारित गरेर सम्पत्ति कर वृद्धि गरिएको हो’’, उहाँले भन्नुभयो, ‘‘उहाँहरुले लगाउनुभएको कतिपय माग यथोचित छैन ।’’

तपाईको प्रतिक्रिया