‘मातृभाषामा समाचार सुरुवातले भाषा र संस्कृति संरक्षणमा परिवर्तन ल्याउन सक्छ’

  कार्तिक ०५, २०८१

काठमाडौ, ५ कात्तिक : नेपाल भाषा आन्दोलनका अगुवा तथा त्यससँग सम्बन्धित संस्थाका पदाधिकारीले मैथिली र नेपाल भाषामासमेत राष्ट्रिय समाचार समिति (रासस)ले औपचारिकरुपमा समाचार बुलेटिन सुरुवात गरेकामा खुशी व्यक्त गर्नुभएको छ ।

उहाँहरुले संविधानले दिएको अधिकार उपयोग गर्ने र समावेशी समाज निर्माण गर्ने विषयमा राससले नेपाल भाषा र मैथिली भाषामा आरम्भ गरेको समाचार सेवा प्रकाशन सह्रानीय रहेको बताउनुभयो । नेपाल भाषा आन्दोलनका अगुवाहरुले बहुभाषिक सञ्चारका हिसाबले राससले शुरु गरेको अभियानले क्रान्तिकारी परिवर्तन ल्याउन सक्ने धारणा राख्नुभयो ।

आफना समाचार सेवालाई समावेशी चरित्रको बनाउने उद्देश्यले गत असोज २९ गतेदेखि मैथिली र नेपाल भाषामा परीक्षण शुरु गरेको राससले आइतबारदेखि दुवै भाषाका सेवालाई औपचारिकता प्रदान गरेको हो । राज्यको लगानी रहेको राससमार्फत सार्वजनिक चासोका सूचना र जानकारी आम नागरिकले उनीहरूकै भाषामा प्राप्त गर्ने अवसर मिलेको छ ।

यसअघि राससले संविधानको मर्म र भावनाअनुरुप सङ्घीयता र समावेशी अवधारणालाई आत्मसात् गर्दै विसं २०८० पुस २३ गतेदेखि अवधी भाषामा समाचार सेवा प्रारम्भ गरेको थियो भने गत भदौ १७ देखि चौबीसै घण्टा समाचार सेवा दिँदै आएको छ ।

राससले मुलुकमा नेपालीपछि सबैभन्दा धेरै जनसङ्ख्याले बोल्ने मैथिली र नेपाल भाषामा समाचार उपलब्ध गराउन गरेको पहल कदमीले मातृभाषामा कसरी पत्रकारिता गरौँ भनेर बसेकालाई जागरुक तुल्याएको प्रतिक्रिया प्राप्त नेपालीभाषीहरुले दिनुभएको छ । यसअघि राससले आइतबार ती दुवै भाषाका समाचार अनुवाद र सम्पादन गर्ने चार जना जनशक्ति छनौट गरी जिम्मेवारी तोकेको थियो ।

समावेशी लोकतन्त्रमा भाषिक, सांस्कृतिक, समानता र अपनत्वको अभ्यास आवश्यक हुने बताउँदै आइतबार औपचारिक उद्घाटन कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले भन्नुभयो, “शान्त, समुन्नत, सभ्य, समतामूलक समाज निर्माणका लागि सुन्दर अभियानकारुपमा राससको नेपाल भाषा र मैथिली भाषाको सुरुवातलाई लिन सकिन्छ ।”

राससले प्रारम्भ गरेको नेपाल भाषाको समाचार सेवाबारे त्यस भाषाको विकास, विस्तार र संरक्षणमा लाग्नुभएका अगुवासँग राससले गरेको कुराकानीको सम्पादित अंश :

सुरेश किरण मानन्धर : सदस्य भाषा आयोग

संविधानले दिएको अधिकार उपयोग गर्ने र समावेशी समाज निर्माण गर्ने कुरामा राससले गरेको काम सह्रानीय छ । मातृभाषा अर्थात बहुभाषिक सञ्चारका हिसाबले क्रान्तिकारी परिवर्तन ल्याउँछ जस्तो लाग्छ । राससको समाचार बुलेटिन देशका सबै सञ्चार माध्यमले प्रयोग गर्ने सामाग्री हो । यो एउटा मात्र सञ्चार माध्यम्सँग आबद्ध छैन । राससबाट जाने समाचार सम्पूर्ण सञ्चार माध्यममा जाने भएकाले राससले नेपाल भाषा र मैथिली भाषाको समाचार सम्प्रेषण गरेपछि नेपालका अरु पनि सञ्चार माध्यमका लागि सामाग्री उपलब्ध हुन्छ । मातृभाषामा कसरी पत्रकारिता गरौँ भनेर बसेकालाई यसले जागरुक तुल्याउँछ । सञ्चार र पत्रकारिताका हिसाबले यसको महत्व धेरै रहन्छ । मातृभाषा संरक्षणका लागि विभिन्न काम र अनुसन्धान गरिएको हुन्छ । सरकारी कामकाजकासाथै सञ्चारमा पनि मातृभाषाको प्रयोग हुन जरुरी छ । विश्व सञ्चारमय तथा मिडिया सक्तिशाली भएर आएको सन्दर्भमा मातृभाषाको पत्रकारितालाई टेवा दिने काम भएको छ । यसले सञ्चार र सूचना सम्प्रेषक मात्र नभई मातृभाषाको संरक्षणमा सञ्चारलाई कसरी उपयोग गर्न सक्छाँै भन्नेमा ठूलो टेवा दिन्छ । यसमा संवैधानिक अधिकारको प्रयोगको कुरा त छँदैछ, मातृभाषा संरक्षणको सवालमा पनि सञ्चारलाई जोड्ने काममा राससबाट यो काम अत्यन्तै आवश्यक र हुनुपर्ने काम भएको छ । राससले नेपालीभाषामा गएका समाचार हुबहु अनुवाद मात्रै गरेर राख्ने होइन कि सम्बन्धित समुदायका भाषा, संस्कृति, इतिहास, रहनसहन र वेशभूषाका, सम्पदाका समाचार राख्न जरुरी छ । अर्काेतर्फ नेपाल भाषा आन्दोलनका अगुवा साथीहरुले पनि राससले उपलब्ध गराएको यो बुलेटिनलाई सकभर सबै सञ्चार माध्यममा पु¥याउने, पहुँच बढाउने तथा प्रयोगमा ल्याउने कार्य अभियान चलाउनुपर्छ । ताकि राससले तयार गरेका सामाग्रीको सही उपयोग होस । सही ठाउँमा पहुँच पु¥याउने काम हामीले गर्नुपर्छ ।

विमलप्रभा बज्राचार्यः कथाकार नेपाल भाषा

राससबाट नेपाल भाषा र मैथिली भाषामा समाचार सम्प्रेषण गरिने विषय हामी नेपाल मातृभाषीका लागि राम्रो र खुशीको कुरा हो । सङ्कुचन हुँदै गएको नेपाल भाषाको पुनः एकपटक प्रचार प्रसार भएको छ । राससबाट नियमितरुपमा समाचार बुलेटिन प्रकाशित भएपछि नेपाल भाषा र संस्कृति सवै ठाँउमा प्रचार प्रसार हुनेछ । नेपाल राष्ट्रको पहिचानसँग जोडिएको नेपाल भाषाको उत्थान र प्रवर्द्धन गर्ने हेतुले राससबाट दैनिकरुपमा यस भाषामा समाचार आरम्भ भएकामा धन्यवाद भन्न चाहन्छु । नेपाल भाषाको विकास र विस्तारका लागि राससलाई म मेरो ठाँउबाट परेको खण्डमा आवश्यक ज्ञान र सहयोग उपलब्ध गराउने विश्वास दिलाउन चाहन्छु ।

पवित्र बज्राचार्य : अध्यक्ष नेवा देय दवु :

राससले दैनिकरुपमा नेपाल भाषा र मैथिली भाषामा समाचार दिन शुरु गरेको छ । यो राम्रो कार्यको थालनी भएको छ । सयाँै बर्षदेखि नेवारी समुदायले भोगिरहेको आफ्नो भाषा र संस्कृतिको संरक्षणका लागि गरेको अभियानलाई राज्य पक्षले सहयोग नगर्दा नेपालभाषा हराएर जाने परिस्थितिसम्म पुगेको थियो । अहिले राससले नेपाल भाषामा बुलेटिन निकालेर समाचार सम्प्रेषण गर्ने कामको थालनी गरिदिएर नेवार समुदायले उठाएको माग अब पुरा हुने दिशातर्फ गयो भन्ने लागेको छ । लोकतन्त्र र गणतन्त्र हामी सबै भन्छौँ, तर विभिन्न समुदायका सर्वसाधारणले त्यो महशुस गर्न पाइरहेको थिएन । संविधानमा समावेश भएपनि व्यवहारमा लागू नभइरहेको अवस्थामा यसपाली राससले नेपाल भाषा र मैथिलीमा जुन बुलेटिन निकाल्ने निर्णय गरेर थालनी गर्नाले हामीलाई गौरवान्वित बनाएको छ । त्यसका लागि राससलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु । यसले हामीलाई उत्साहित बनाएको छ । मुलुकमा कला, संस्कृति, सम्पदा र धार्मिक हिसाबले नेवार समुदायका पनि धेरै महत्वपूर्ण गतिविधि भइरहेका हुन्छन् । यस्ता गतिविधि समुदाय विशेषले मात्र नभई स्वदेश र विदेशले पनि थाहा पाउने र जानकारी लिने विषयबस्तु हुनसक्छ । त्यस्ता गतिविधिलाई राससले आफना समाचार बुलेटिनमा समावेश गर्नुपर्छ । त्यसले हाम्रो भावना तथा माग र मुद्धालाई सम्बोधन गरेको अनुभूति गराउँछ । त्यसका लागि आफूहरु संलग्न संस्थाले आवश्यक सहयोग पु¥याउन सक्छ । त्यो वातावरण समेत राससले बनाओस् । शुभकामना छ ।

तपाईको प्रतिक्रिया