जानकी मन्दिरमा कोजाग्रत पर्व बिहीबार

  ३ घण्टा अगाडि

महेन्द्रनगर (धनुषा), ३० असोज : जनकपुरधामको प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा बिहीबार कोजाग्रत ९कोजागरा० पर्व मनाइने भएको छ ।

हिन्दू धर्मावलम्बीले मिथिलामा आज सो पर्व मनाउने भए पनि जानकी मन्दिरमा बिहीबार मनाइने जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले जानकारी दिनुभयो । उहाँका अनुसार यस अवसरमा महोत्तरीको पिपरा गाउँपालिका–६ स्थित रतौलीका स्व ब्रह्मदेव ठाकुरको घरबाट प्रत्येक वर्षझैँ यसपाली पनि एक सय सात पाहुर ९भार० जानकी मन्दिरमा ल्याइनेछ ।

मन्दिरको पाहुरमा पान, मखान, लड्डु, खाजा, दही, चावल, दाल, तरकारीका अतिरिक्त रामजानकीको लुगा रहनेछ । स्व ब्रह्मदेव ठाकुर परिवारका सदस्य नवीन ठाकुरले वर्षौंदेखिको परम्परालाई निरन्तरता दिइने बताउनुभयो । यो परम्परा एक सय सात वर्षदेखि चल्दै आएको उहाँले बताउनुभयो । जानकी मन्दिरका महन्त तपेश्वर दास वैष्णवका अनुसार कोजाग्रत महोत्सवमा रामजानकीको चुमाओन ९विशेष पूजा० गरिन्छ । उक्त पूजा आकर्षक हुने गर्छ ।

मिथिलाञ्चलमा नव विवाहित बेहुलाका घरमा पनि कोजाग्रत पर्व मनाउने परम्परा छ । बधु पक्षद्वारा वर पक्षलाई पठाइएको सामग्रीले रमाइलोगरी पासा र पचिसी खेल्ने परम्परा रहेकोे पण्डित सुरेश झा बताउनुहुन्छ । आचार्य पण्डित सन्तोषकुमार पाण्डेयका अनुसार चुमाओन विधिमा शरीरका शीर्षदेखि चरणसम्म पाँच वटा प्रमुख अङ्गलाई चुमाउने गरिन्छ ।  हातका पाँचऔँला पञ्च महाभूतका प्रतीक मानिन्छ । पाँच अङ्गको स्पर्शले शरीर ऊर्जावान् हुने विश्वास मिथिला क्षेत्रमा रहेको आचार्य पाण्डेले बताउनुभयो ।

कोजाग्रत पर्वलाई जागृति पर्वको रुपमा पनि मानिने र यस पर्वलाई विष्णुत्वको प्रतीकका रूपमा समाजले स्वीकारेको आचार्य पाण्डेको भनाइ छ । मैथिल संस्कृतिको एउटा प्रमुख अङ्ग रहेको यस पर्वमा परिवारका सदस्यले पान, मखान र मिठाइ खाने तथा एकअर्कासँग प्रेमपूर्वक भेटघाट गर्ने चलन रहेकोे जानकार डा राजेन्द्र विमलले बताउनुभयो ।

कोजाग्रतमा टाढाटाढाबाट भक्तजन रामजानकीलाई पान मखान चढाउन आउने पण्डित काशिकान्ता झा बताउनुहुन्छ । यो पर्वमा भगवान विष्णुलाई स्मरण गरिन्छ । विष्णुको अवतार राम रहेको, त्यसैले जानकी मन्दिरमा र मिथिलाञ्चलमा ज्वाईँलाई पनि विष्णुकै रुपमा लिने गरिन्छ ।

यस पर्व जनकपुरधाममा महोत्सवकै रुपमा मनाउने परम्परा छ । पारिवारिक समृद्धि र सौभाग्यका लागि यो पर्व मैथिल संस्कृतिअनुसार मनाइन्छ । मैथिल संस्कृतिमा कोजाग्रतलाई निर्मल, धवल एवं शीतल रातकारूपमा मानिन्छ । कोजाग्रतका राति भगवती श्रीलक्ष्मीले स्वयम् निरीक्षण गर्ने र जाग्राम बस्नेलाई धनधान्यले पूर्ण गर्छिन् भन्ने जनविश्वास रहेको जानकारहरु बताउँछन् ।

उदया तिथिलाई जानकी मन्दिरले मान्ने गरेका कारण अन्यले मनाउने कोजाग्रतभन्दा एकदिन ढिलो जानकी मन्दिरमा मनाइने मन्दिरका महन्त तपेश्वर दास वैष्णवले बताउनुभयो ।

तपाईको प्रतिक्रिया