नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोटमा १४० भन्दा बढीको मृत्यु

  ३ घण्टा अगाडि

उत्तरी नाइजेरियामा भएको एक विस्फोटमा एक सय ४० भन्दा बढी मानिसको मृत्यु भएको छ । उत्तरी जिगावा राज्यमा दुर्घटनाग्रस्त ट्याङ्करबाट पोखिएको इन्धन सङ्कलन गर्ने क्रममा धेरै पीडितको मृत्यु भएको थियो ।

नाइजेरियाले आफ्नो पुस्ताकै सबैभन्दा खराब आर्थिक सङ्कटको समयमा पेट्रोल बहुमूल्य पदार्थ बनेको बेला यो पछिल्लो दुर्घटाना भएको हो । 

प्रहरीका अनुसार इन्धन ट्याङ्करले अर्को सवारी साधनलाई बचाउन खोज्दा मङ्गलबार जिगावा राज्यको माजिया शहरमा दुर्घटनाग्रस्त भएको थियो ।

प्रहरी प्रवक्ता लवान शिइसु आदमका अनुसार, दुर्घटना पछि स्थानीय बासिन्दाहरू ट्याङ्कर वरिपरि भेला भएर सडक र नालीमा चुहिएको इन्धन सङ्कलन गर्दै थिए ।

राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सी ९एनइएमए० का प्रवक्ता नुरा अब्दुल्लाहले एक सय ४० भन्दा बढी मानिस’ लाई सामूहिक चिहानमा गाडिएको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताउनुभयो ।

यसअघि प्रहरीले कम्तीमा ९४ जनाको मृत्यु भएको र ५० जना घाइते भएको बताएको थियो ।

नाइजेरियाली सांसदहरूले सिनेटमा एक मिनेट मौन धारण गरेका छन् ।

बुधबार एक वक्तव्यमा नाइजेरियाका उपराष्ट्रपति काशिम शेट्टिमाले सुरक्षा समीक्षाको आह्वान गर्नुभयो र सङ्घीय सरकारले प्रभावितहरूलाई सहयोग गर्न स्रोतहरू पठाइरहेको बताउनुभयो ।

इन्धन ट्याङ्कर विस्फोटहरू अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको नाइजेरियामा सामान्य हुन् । यहाँ सडकहरू राम्रोसँग मर्मतसम्भार नगरिएको हुन सक्छ र बासिन्दाहरूले प्रायः दुर्घटनापछि इन्धन चोरी गर्ने प्रयास गर्छन् ।

राष्ट्रपति बोला अहमद टिनुबुले गत वर्ष अनुदान हटाएपछि पेट्रोलको मूल्य पाँच गुणा बढेको छ, र प्रायः अभाव हुने गर्छ ।

गत साता सरकारी तेल कम्पनीले एक महिनाभन्दा कम समयमा दोस्रो पटक मूल्य वृद्धि गरेपछि निराशा अझै बढेको छ ।

तपाईको प्रतिक्रिया