उत्तर कोरियाको उल्लङ्घनको अनुगमन गर्न नयाँ प्रतिबन्ध अनुगमन टोली

  ३ घण्टा अगाडि

सोल, ३० असोज (रासस/एएफपी) : दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानसहित ११ देशले उत्तर कोरियाको प्रतिबन्ध उल्लङ्घनको अनुगमन गर्न नयाँ संयुक्त संयन्त्र सुरु गर्ने सोलको विदेश मन्त्रालयले बुधबार बताएको छ ।

यो निर्णय रूसले मार्चमा उत्तर कोरियामाथि लगाइएको अन्तर्राष्ट्रिय प्रतिबन्धको अनुगमन गर्ने संयुक्त राष्ट्रसङ्घका विशेषज्ञहरूको प्यानलको नवीकरणमा भिटो लगाएपछि आएको हो । भिटोले उत्तरको प्रतिबन्धित आणविक र हतियार कार्यक्रमहरूका लागि लगाइएको प्रतिबन्धको आधिकारिक निरीक्षणलाई प्रभावकारी रूपमा समाप्त गरेको छ ।

रूसको भिटोको व्यापक आलोचना गरिएको थियो । संयुक्त राज्य अमेरिकाले यसलाई उत्तर कोरियासँगको ‘आफ्नै मिलेमतोमा प्यानलको रिपोर्टिङलाई दबाउने स्वार्थी प्रयास’ भनेको थियो ।

त्यसयता सोल र अन्य देशले प्रतिबन्ध अनुगमन जारी राख्न विभिन्न विधि लागू गर्न काम गरिरहेका छन् । संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूतले अनुगमन गतिविधिहरूको निरन्तरता सुनिश्चित गर्न ‘केही रचनात्मक तरिका’ र ‘नयाँ दृष्टिकोणबाट सोच्ने काम’ खोजिरहेको बताउनुभयो । 

दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानका साथै अन्य आठ देश – फ्रान्स, बेलायत, जर्मनी, इटाली, नेदरल्यान्ड्स, क्यानाडा, अस्ट्रेलिया र न्युजिल्यान्ड – बहुपक्षीय प्रतिबन्ध अनुगमन टोली ९एमएसएमटी० मा सहभागी हुनेछन् ।

“एमएसएमटी अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्न र विश्वव्यापी अप्रसार शासनको रक्षा गर्न र ९उत्तर कोरियाको० सामूहिक विनाशका हतियार र ब्यालिस्टिक मिसाइल कार्यक्रमहरूबाट उत्पन्न हुने खतरालाई सम्बोधन गर्न हाम्रो प्रतिबद्धतासँग जोडिएको छ”, देशहरूले एक संयुक्त वक्तव्यमा भनेका छन्, “एमएसएमटीले संयुक्त राष्ट्र सुरक्षा परिषद्का प्रस्तावहरूको प्रतिबन्धात्मक उपायहरूको उल्लङ्घनको अनुगमन र रिपोर्ट गर्नेछ ।”

“हाम्रो प्राथमिकता अघिल्लो व्यवस्था जारी राख्नु थियो”, अमेरिकी उपविदेशमन्त्री कर्ट क्याम्पबेलले बुधबार सोलमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भन्नुभयो, “त्यो मार्ग रूसी अडानले रोकिएको थियो, त्यसैले यो हामीले अपनाएको दृष्टिकोण हो, साझा उद्देश्यले प्रेरित राष्ट्रहरूको यो समूहसँग वास्तवमै पहिले गरिएका केही काम र रिपोर्टिङलाई पार गर्ने क्षमता छ ।”

दक्षिण कोरियाका प्रथम उपविदेशमन्त्री किम हङ–क्युनले उत्तरले विभिन्न क्षेत्रमा संयुक्त राष्ट्र सुरक्षा परिषद्का प्रस्तावहरूको उल्लङ्घन गरिरहेको बताउनुभयो ।

“उल्लङ्घनहरूमा आणविक मिसाइल उक्साहट, रूससँग गैरकानूनी हतियार सम्झौता, ह्याकिङमार्फत कोषको साइबर चोरी र समुद्रमा गैरकानूनी जहाज–देखि–जहाज स्थानान्तरण समावेश थियो”, उहाँले भन्नुभयो ।

मस्कोले सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेयता ऐतिहासिक सहयोगी रूस र उत्तर कोरिया अझै नजिक आएका छन् ।

प्योङयाङले किएभविरुद्ध प्रयोग गर्न मस्कोलाई हतियार पठाइरहेको छ सोलले दाबी गरेको छ । त्यस्तै युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले हालै उत्तरले रूसको सेनामा सैनिकहरू पठाएको आरोप लगाउनुभएको छ । 
प्योङयाङले रूससँग कुनै पनि प्रतिबन्ध–विरोधी हतियार व्यापारलाई अस्वीकार गरेको छ ।

तपाईको प्रतिक्रिया