नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोटमा करिब १०० को मृत्यु

  २ घण्टा अगाडि

कानो (नाइजेरिया), ३० असोज (रासस/एएफपी) : उत्तरी नाइजेरियामा एउटा इन्धन ट्याङ्कर विस्फोट हुँदा करिब एक सय जनाको मृत्यु र ५० जना घाइते भएको प्रहरीले बुधबार बताएको छ ।

प्रहरी प्रवक्ता लवान शिसु आदमका अनुसार मङ्गलबार राति उत्तरी जिगावा राज्यमा ट्याङ्कर दुर्घटनामा परेपछि सडकमा पोखिएको इन्धन सङ्कलन गर्ने क्रममा धेरै पीडितको मृत्यु भएको थियो । 

उहाँले माजिया शहरमा एउटा ट्रकसँग ठोक्किनबाट बच्न खोज्दा ट्याङ्कर पल्टिएको जानकारी दिनुभयो । “हामीले अहिलेसम्म ९४ जनाको मृत्यु र लगभग ५० जना घाइते भएको पुष्टि गरेका छौँ”, उहाँले मृतकको सङ्ख्या बढ्न सक्ने चेतावनी दिँदै भन्नुभयो ।

दुर्घटनापछि स्थानीय बासिन्दाहरू सवारी साधनको वरिपरि भेला भएर सडक र नालीमा पोखिएको इन्धन सङ्कलन गरिरहेका थिए । 

नाइजेरियान मेडिकल एसोसिएसनले चिकित्सकहरूलाई बिरामीहरूको चापलाई सम्हाल्न नजिकैका आपत्कालीन कक्षहरूमा जान आग्रह गरेको छ ।

इन्धन ट्याङ्कर विस्फोटहरू अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको नाइजेरियामा सामान्य हुन् । यहाँ सडकहरू राम्रोसँग मर्मतसम्भार नगरिएको हुन सक्छ र बासिन्दाहरूले प्रायः दुर्घटनापछि इन्धन चोरी गर्ने प्रयास गर्छन् ।

नाइजेरियाले आफ्नो पुस्ताकै सबैभन्दा खराब आर्थिक सङ्कट भोगिरहेको बेला इन्धन अझै बहुमूल्य वस्तु बनेको छ ।

राष्ट्रपति बोला अहमद टिनुबुले गत वर्ष अनुदान हटाएपछि पेट्रोलको मूल्य पाँच गुणा बढेको छ, र प्रायः अभाव हुने गर्छ ।

गत साता सरकारी तेल कम्पनीले एक महिनाभन्दा कम समयमा दोस्रो पटक मूल्य वृद्धि गरेपछि निराशा अझै बढेको छ ।

– खतरनाक सडकहरू –

देशमा ट्याङ्करहरू संलग्न दुर्घटनाहरू बारम्बार हुने गर्छन् । सङ्घीय सडक सुरक्षा आयोग ९एफआरएससी० ले सन् २०२० मा एक हजार पाँच सय ३१ दुर्घटना अभिलेख गरेको छ, जसमा पाँच सय ३५ जनाको मृत्यु भएको थियो ।

गत महिना उत्तर–पश्चिमी निगर राज्यमा एउटा इन्धन ट्याङ्कर यात्रु र गाईवस्तु बोकेको ट्रकसँग ठोक्किँदा कम्तीमा ५९ जनाको मृत्यु भएको थियो ।

एफआरएससीका अनुसार सन् २०२३ मा नाइजेरियामा सडक दुर्घटनामा पाँच हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । अघिल्लो वर्ष लगभग छ हजार पाँच सय जनाको मृत्यु भएको थियो ।

यद्यपि विश्व स्वास्थ्य सङ्गठनका अनुसार यी आँकडाहरूमा अधिकारीहरूलाई रिपोर्ट नगरिएका दुर्घटनाहरू समावेश छैनन् ।

गत वर्ष प्रकाशित एक प्रतिवेदनमा नाइजेरियामा वार्षिक सडक दुर्घटना मृत्यु सङ्ख्या ४० हजारको नजिक रहेको अनुमान गरिएको उल्लेख छ ।

महाद्वीपका सबैभन्दा ठूला कच्चा तेल उत्पादकहरू मध्ये एक नाइजेरियाको इन्धन र तेल पूर्वाधारमा घातक आगलागी र विस्फोटहरू पनि हुने गर्छन् ।

तपाईको प्रतिक्रिया