तेस्रो अन्तर्राष्ट्रिय ओलम्पियाड नेपालमा

  असोज १८, २०८१

गोदावरी (ललितपुर), १८ असोज : एष्ट्रोनोमी र एष्ट्रोफिजिक्ससम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय ओलम्पियाड आजदेखि यहाँ सुरु भएको छ । युरोपमा हुने गरेको यो ओलम्पियाड एसियामा पहिलोपटक नेपालले गर्ने अवसर पाएको हो ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको ओलम्पियाडमा १९ देशका २१ समूहले भाग लिएको अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । विद्यालय तहका विद्यार्थीको प्रतिभा पहिचानसम्बन्धी यो प्रतियोगितामा भाग लिन विभिन्न देशबाट आएका विद्यार्थी उत्साहित देखिन्छन् । 

कार्यक्रमको उद्घाटन समारोहमा बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामाले नेपाली युवा उत्साहित भएर अन्तर्राष्ट्रियस्तरको ओलम्पियाड गर्छौँ भनी लागेपछि आफू प्रेरणा दिन कार्यक्रममा आएको बताउनुभयो । यस्ता कार्यक्रमले काम र अध्ययनका लागि विदेश जाने नेपालीलाई स्वदेशमै अवसर छ भनी आशा जगाउन सहयोग गर्ने उहाँले बताउनुभयो । 

अन्तर्राष्ट्रिय ओलम्पियाड सङ्घका अध्यक्ष अनिकेत सुलेले सगरमाथा र शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्म देश नेपालले यस्तो कार्यक्रम गर्दा आफूहरु उत्साहित भएको बताउनुभयो । यस्ता कार्यक्रमले नेपालको पर्यटन प्रवद्र्धनमा पनि सहयोग गर्ने उहाँको भनाइ थियो ।

आयोजक समिति नेपालका सहअध्यक्ष प्रा डा उदयराज खनालले खगोल विज्ञानका क्षेत्रमा केही नयाँ काम गर्छु भन्नेका लागि ओलम्पियाड एउटा अवसरका रुपमा रहेको बताउनुभयो । यस्ता कार्यक्रमलाई निरन्तरता दिनसके नेपाल खगोल विज्ञानमा उपलब्धि हासिल गर्न सक्ने उहाँको विचार थियो । 

पाँच दिनसम्म चल्ने कार्यक्रममा १९ देशका २१ समूहमा विभाजित विद्यालय तहका विद्यार्थीले प्रतिभा प्रस्तुत गर्ने आयोजक समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया