काठमाडौँ, १५ असोज : क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खलाअन्तर्गत जारी खेलमा नेपालले घरेलु टोली क्यानडालाई जितका लागि १४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
क्यानडाको किङ सिटीमा जारी खेलमा नेपालले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १३९ रन मात्रै बनाउन सक्यो । नेपालका लागि ओपनर अनिल साहले ३० बलमा तीन छक्का र चार चौकासहित ४१ रन र अर्का ओपनर आशिफ शेखले ३० बलमा एक छक्का र तीन चौकाको सहयोगमा ३० रन बनाए ।
साथै गुलशन झाले २३ र कुशल भुर्तेलले १३ र दीपेन्द्र सिंह ऐरीले १२ रन बनाए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
क्यानडाका लागि हर्ष ठाकरले दुई विकेट लिए । साथै दिलोन हेलिङगर, अखिल कुमार, प्रवीण कुमार र साद विन जफरले समान एक-एक विकेट लिए । अहिले क्यानडा जवाफी ब्याटिङमा उत्रिएको छ ।