बालबालिकामा लगानी गर्न सरोकारवालाको आग्रह

  २ घण्टा अगाडि

काठमाडौँ, ७ असोजः सरोकारवालाले बालबालिकाको क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ । समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस) नेपालले आज यहाँ आयोजना गरेको ‘बाल अधिकारसम्बन्धी सञ्चारकर्मीसँग छलफल’मा उन्नत भविष्यका लागि बालबालिकाका क्षेत्रमा लगानी बढाउन आवश्यक रहेकोमा उहाँहरुले जोड दिनुभयो ।

सिविसका सल्लाहकार युवराज घिमिरेले बालबालिकामा लगानी बढाउनु पर्नेमा राज्यले जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “लगानी नारामा मात्र सीमित हुनु भएन । नीति बनेको छ तर कार्यान्वयन हुनसकेको छैन । बालश्रम शोषणको अनुगमन गर्ने संस्थाको पनि अभाव देखिन्छ ।

पोलिगन कलेजका प्रिन्सिपल अविरल थापाले बालबालिकामाथि नियन्त्रण नभइ अभिभावकले निगरानी गर्नुपर्ने र उनीहरुमा पढ्ने बानीको विकास गर्नुपर्ने बताउनुभयो । सञ्चारकर्मी गोविन्द खड्काले मिडियाले बालबालिकालाई केन्द्रिकृत गरेर कार्यक्रम उत्पादन गर्नुपर्ने र नीतिगत पैरवीमा बढी जोड दिनुपर्ने धारणा राख्नुभयो ।

सिविसले विगत ३० वर्षदेखि बाल संरक्षणको मुद्दामा काम गर्दै आएको छ । कार्यक्रममा सहभागीले बालबालिकाको क्षेत्रमा बहुक्षेत्रीय समन्वय आवश्यक पर्ने, लैङ्गिक अल्पसङ्ख्यक बालबालिकाको विषय पनि उठान गरिनुपर्ने, बालमैत्री समाचार उत्पादनमा ध्यान दिनुपर्ने सुझाव राख्नुभएको थियो । 

तपाईको प्रतिक्रिया