सिस्नेमा ‘छोरी बचत खाता’ कार्यक्रम

  ३ घण्टा अगाडि

रुकुमपूर्व, ७ असोजः सिस्ने गाउँपालिकामा सञ्चालन भएको छोरी बचत खाता कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ देखि गाउँपालिकामा छोरी बचत खाता कार्यक्रम सञ्चालन गरेको हो ।

उक्त कार्यक्रमअन्तर्गत गत आर्थिक वर्ष २०८०/८१ मा ८२ जना छोरीको ‘छोरी बचत खाता’ खोलिएको छ । कार्यक्रम सुरु भएयता उक्त कार्यक्रममा चार सय छोरीहरूको खाता खोलिएको छ । गाउँपालिकाले २०७७ साल साउनदेखि जन्मिएका छोरीको खाता खोलेर पाँच हजार रुपैयाँ जम्मा गर्दै आएको छ । गाउँपालिकाले तोकेको मापदण्ड पूरा गरी जन्मिएका सबै छोरीको खातामा रकम जम्मा गर्ने गरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।

छोरी बचत खाताका लागि चारपटक गर्भजाँच गराएको हुनुपर्ने, स्वास्थ्य संस्थामै सुत्केरी भएको हुनुपर्ने र छोरी जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराएको हुनुपर्ने उहाँको भनाइ छ । सबै प्रक्रिया पूरा भएपछि एक जना संरक्षक लिएर गाउँपालिकामा पुगे गाउँपालिकाले नै छोरी बचत खाता खोलिदिने गरेको छ ।

बचत खाता कार्यक्रमको रकम छोरी २० वर्ष पुगेपछि मात्रै निकाल्न पाइन छोरी बचत कार्यक्रमकी स्वास्थ्य संयोजक पुष्पा ओलीले बताउनुभयो । यसका लागि २० वर्ष नपुगी विवाह नगरेको र पढाइ निरन्तरता हुनुपर्ने उहाँको भनाइ छ । बीस वर्षपछि उक्त रकम छोरीले निकालेर आफैँ चलाउन पाउनेगरी गाउँपालिकाले कार्यविधि निर्माण गरेको छ । बीस वर्ष नपुगी छोरीले विवाह गरेमा सो रकम गाउँपालिकाको खातामा फिर्ता हुने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया