विश्व पर्यटन दिवसमा बन्दीपुरमा सडक खाना महोत्सव

  २ घण्टा अगाडि

दमौली (तनहुँ), ६ असोजः विश्व पर्यटन दिवसका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । पर्यटन दिवसका अवसरमा यही असोज ११ गते बन्दीपुरमा सडक खाना महोत्सवका साथै विविध सांस्कृतिक कार्यक्रम हुन लागेको हो ।

बन्दीपुर गाउँपालिका, बन्दीपुर पर्यटन विकास समितिको आयोजना तथा स्थानीय सङ्घसंस्थाको सहकार्यमा सडक खाना महोत्सव आयोजना गरिएको पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बताउनुभयो । 

उहाँले भन्नुभयो, “पर्यटन दिवसका अवसरमा बन्दीपुर आउने पर्यटकको स्वागत गर्दै विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ ।” उहाँका अनुसार त्यस दिन बन्दीपुरका विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ । बन्दीपुरमा अब पर्यटकको याम सुरु हुन लागेकाले यहाँका व्यवसायी पर्यटकको स्वागतका लागि तयार रहेको उहाँको भनाइ छ । 

गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि कार्यक्रमले टेवा मिल्ने उल्लेख गर्नुभयो । थापाले भन्नुभयो, “गाउँपालिकाले बन्दीपुर आउने विदेशी पर्यटकका लागि यहाँका गन्तव्यस्थलबारे जानकारी दिन सजिलो होस् भन्ने हेतुले नौ भाषामा सामग्री तयार गरिसकेको छ ।” गाउँपालिकाले नेपाली, चिनियाँ, अङ्ग्रेजी, फ्रेन्च, जर्मन, हिन्दी, स्पेनिस, सिन्हला र थाइ भाषामा बन्दीपुरका बारेमा सामग्री तयार गरेको छ । 

खड्देवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यका रुपमा सूचीकृत गरेको छ । बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स, जर्मनबाट पर्यटक आउने गरेका छन् । विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको व्यवसायी बताउँछन् ।

सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । त्यहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरिलगायत हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।

तपाईको प्रतिक्रिया