पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री शर्मालाई पितृशोक

  असोज ०२, २०८१

देउखुरी (दाङ), २ असोज : पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा(माओवादी केन्द्र)की नेतृ रेखा शर्माका पीता वरिष्ठ साहित्यकार गिरिराज शर्माको आज ८४ वर्षको उमेरमा निधन भएको छ ।

केही समयदेखि भैरहवामा बसोबास गर्दै आउनुभएका शर्माको स्वास्थ्यमा समस्या देखिएपछि आज बुटवलस्थित गौतम बुद्ध मुटु अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारका क्रममा दिउँसो ३ः१५  बजे निधन भएको अस्पतालले जनाएको छ ।

शर्माको पार्थिव शरीर आज साँझ दाङको घोराही–१८ मसिनास्थित निवासमा श्रद्धाञ्जलीका लागि राखिनेछ । उहाँको भोलि बिहान मसिना सतीघाट कटुवाखोलामा अन्त्येष्टि गरिने शर्माको परिवारले जनाएको छ ।

नेपालको प्रगतिशील साहित्यिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका वरिष्ठ साहित्यकार शर्माका झन्डै एक दर्जन कृति र दर्जनौँ कविता प्रकाशित छन् । निवृत्त शिक्षक शर्माका चार छोरी र एक छोरा हुनुहुन्छ । शर्माकी श्रीमती पार्वती शर्मा पौडेलको २०७७ साल चैत ९ गते निधन भइसकेको छ ।

तपाईको प्रतिक्रिया