झापा, २३ भदौः विपद्मा परेका व्यवसायीलाई सहयोग गर्न विर्तामोड उद्योग वाणिज्य सङ्घले स्थापना गरेको ‘सदस्य राहत कोष’मा सहयोग रकम जुट्न थालेको छ ।
विपत्तिका बेला तत्काल सहयोग गर्ने उद्देश्यले सङ्घले रु एक करोडको अक्षयकोष बनाउने निर्णय गरेको थियो । सङ्घमा पाँच हजार ६ सय ६२ जना सदस्य आबद्ध छन् । सङ्घका सदस्य व्यवसायी पर्वत कार्कीले कोषमा रु एक लाख ११ हजार एक सय ११ दाखिला गर्नु भएको सङ्घका अध्यक्ष राजु न्यौपानेले बताउनुभयो ।
हालसम्म रु आठ लाखभन्दा बढी रकम सङ्कलन भइसकेको छ । आगलागी, बाढी, चोरी, लुटपाटलगायत घटनामा सदस्यले कोषबाट आर्थिक सहयोग पाउने कार्यविधि बनाइएको जानकारी उहाँले दिनुभयो ।
“कार्यालयमा आएर कतिपयले सहयोग गरीरहनुभएको छ”, वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरेले भन्नुभयो, “पाँच हजारभन्दा धेरै सदस्य हुनुहुन्छ । उहाँहरु यतिबेला कोष बन्ने कुराले उत्साही हुनुुहुन्छ । सबैले अलिअलि सहयोग गर्नुभयोभने कोषमा रु एक करोड सहजै जुट्नेछ ।”