काठमाडौँ, २१ भदौ : हरितालिका तिज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा आराधना गर्न आउने भक्तजनको भीड लागेको छ । तिजमा पुरुषलाई प्रवेश निषेध गरिएको पशुपतिनाथ मन्दिरमा तिजको व्रत बसेका दिदीबहिनीको भीड लागेको हो ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाका अनुसार बिहीबार साँझदेखि नै सम्पूर्ण भक्तजन र श्रद्धालुका लागि पशुपतिनाथ मन्दिर दर्शनमा सहजीकरण गर्न थालिएको हो। शुक्रबार बिहानैदेखि आउने ब्रतालुको व्यवस्थापन राम्रो भइरहेको उहाँको भनाइ छ ।
कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति, रुद्रगाडेश्वर, बासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिरी निस्किएर कैलाश दक्षिण जुत्ता–चप्पल कक्षबाट जुत्ता–चप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।
मित्रपार्क, जयवागेश्वरी–गौशाला–भुवनेश्वरी–शङ्कराचार्यमठ दक्षिण हुँदै फलामेपुल–पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शङ्कराचार्यमठ दक्षिण जुत्ता–चप्पल कक्षबाट जुत्ता–चप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको जानकारी दिनुभयो । (तस्बिर न्युज एजेन्सी नेपाल)