प्रेमगीतका भक्त प्रल्हाद

  भदौ १९, २०८१

गण्डकी, १९ भदौ : तपाईँलाई सबैभन्दा बढी मनपर्ने आफ्नो गीत कुन हो ? गीतकार प्रल्हाद सुवेदीले भन्नुभयो, “म त्यही गीतको खोजीमा छु ।” घुमाउरो जवाफ फर्काउँदै उहाँले गीत लेखनप्रतिको आफ्नो असिम प्रेम र तृष्णालाई उजागर गर्नुभयो । हरेकलाई आफ्नो सिर्जना प्रिय र समान लाग्ने उहाँको बुझाइ छ ।

गीत लेखनमा दुई दशक बिताउनुभएका सुवेदी आफूलाई सिर्जनकर्मको शैशवकालमा रहेको भन्न रुचाउँछन् । लोक र दोहोरी गीतका सिद्धहस्त सर्जक सुवेदीले आफूले बाँचेको समय र आफ्ना निजात्मक अभिव्यक्तिलाई गीतमा उधिन्ने गरेको सुनाउनुभयो । उहाँका गीतका मुख्य भावभूमि भनेको मानवीय प्रेम, समवेदना र करुणा हुन् । 

“मेरा अधिकांश गीत प्रेमगीत हुन्, केही सांस्कृतिक विषयवस्तुका पनि छन्”, उहाँले भन्नुभयो, “माया भन्ने विषय प्रेमको सर्वोत्तम विन्दु हो । यसलाई जीवन्त बनाउनु आफ्नो दायित्व हो जस्तो लाग्छ ।” पर्वतको कुश्मा नगरपालिका–१ पाङका सुवेदीले प्रेम, ध्यान र सङ्गीत गरी मानव जीवनका तीन धारलाई आफूले सिरोपर गरेको बताउनुभयो ।

बुद्ध पुरुष ओशोका अनुयायीसमेत रहनुभएका सुवेदीले सङ्गीत जीवनको सबैभन्दा मिठो अभिव्यक्ति भएको बताउनुभयो । “गीत पनि सङ्गीतकै एउटा पक्ष हो, मैले यसलाई मन्त्र बनाएको छु”, उहाँले भन्नुभयो, “प्रेमगीत मेरा चिनारी हुन्, म गीतको जिज्ञासु पाठक र स्रोता पनि हुँ ।” 

पौराणिककालका पात्र विष्णुभक्त प्रल्हाद झै उहाँ प्रेमगीतका भक्त हुनुहुन्छ, भन्दा अतियुक्ति हुँदैन । सुवेदीले गीतलेखनमा आफूलाई समर्पित गरेको बताउनुभयो । “सिर्जनलाई जीवनमा अपनाएँ, मैले आफ्नो बाटो पहिलाएँ, अहिले यसैमा यात्रारत छु, आफूप्रति कुनै गुनासो छैन”, उहाँले भन्नुभयो ।

सुवेदीले हमलसम्म तीन सय बढी गीत नेपाली लोकसङ्गीतलाई दिइसक्नुभएको छ । केही गीतमा उहाँको स्वर र सङ्गीतसमेत छ । स्नातक पढाइका लागि विसं २०६० मा पाङबाट बागलुङ सदरमुकाम झर्नुभएका उहाँले सिर्जना यात्रा पनि त्यहीबाट सुरु भएको थियो । उहाँका केही गीत बागलुङ छँदै सार्वजनिक भएका थिए । 

विसं २०६१ मा स्वराङ्कन भएको ‘लाइयो माया पढ्ने बेलैमा...’ उहाँको पहिलो गीत हो । उक्त गीतमा गायक याम क्षेत्री र गायिका बिमाकुमारी दुराको स्वर छ । “गीतप्रतिको रुचि सानैदेखिको थियो, क्याम्पस पढ्न बागलुङ झरेपछि त्यो अझै झाङ्गियो”, उहाँले विगत कोट्याउनुभयो, “सिर्जनाप्रेमी साथीभाइसँगको सङ्गत र उठ्बसले पनि प्रेरित गरेको थियो ।” उहाँले बागलुङ बजारका हरेक चोक र गल्लीसँग आफ्ना स्मृति गाँसिएको सुनाउनुभयो । 

सुवेदीले बागलुङमा हुने चैत्राष्टमी मेलालगायत विभिन्न पर्व र उत्सवमा हुने लोकदोहोरी प्रतियोगितामा पनि भाग लिनुहुन्थ्यो । विसं २०६३ मा स्नातक पूरा गरी थप अध्ययनका लागि उहाँ काठमाडौँ पुग्नुभयो । त्रिभुवन विश्वविद्यालयमा अङ्ग्रेजी साहित्यको अध्ययन सुरु गरेको सुवेदीले सुनाउनुभयो । काठमाडौँमा गीत लेखनको यात्राले थप मलजल पाएको उहाँको भनाइ छ ।

नेपाली सङ्गीतले व्यावसायिक चरणमा प्रवेश गरिरहेका बेला सुवेदीले ‘नजाउ है सानु पँधेरीमा...’ जस्तो चर्चित गीत लेख्नुभयो । बसन्त थापाको सङ्गीत, कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर रहेको उक्त गीतले उहाँलाई थप उचाइमा पु¥यायो । 

सुवेदी त्योबेला कीर्तिपूरमा बसेर पढ्नुहुन्थ्यो । एकदिन सखारै ३ बजेतिर कीर्तिपुरको सडकमा निस्कँदा उक्त गीतले जन्म लिएको उहाँले बताउनुभयो । “टहल्दै बाहिर हिँडिरहेका बेला सडकमा आफ्नै छाया देखेपछि ‘नजाउ है सानु पँधेरीमा, आफ्नै छायाले पनि छल गर्छ भन्छन् अँधेरीमा।।।’ फु¥यो”, गीतको रचनाबारे उहाँले भन्नुभयो, “हिँड्दाहिँड्दै गीतको थेगो तयार भयो, मैले उतिखेरै सङ्गीतकार बसन्त थापालाई पठाएँ, भोलिपल्ट राति उहाँले धुन तयार गरेर मलाई पठाउनुभयो ।” 

सङ्गीतकार थापाले उक्त गीतका लागि एकैपटकमा धुन तयार पार्नुभएको सुवेदीले बताउनुभयो । त्योबेलाका उदाउँदा गायक कुलेन्द्र विश्वकर्मा, सङ्गीतकार थापा र गीतकार सुवेदीले उक्त गीतमा सहकार्य गर्नुभएको थियो । “कुलेन्द्रजी पनि पर्वतकै, थापा बागलुङको, हामी धवलागिरि क्षेत्रबाट सङ्घर्ष गरेर काठमाडौँ छिरेका कलाकार भएकाले सहकार्यको वातावरण बन्यो, गीत पनि सफल भयो”, उहाँले भन्नुभयो । उक्त गीतमा गायक विश्वकर्मालाई गायिका विष्णु माझीले साथ दिनुभएको छ । भृकृटीमण्डपमा रातभर जाग्राम बसेर उक्त गीतको चलदृश्य छायाङ्कलन गरिएको सुवदीले सम्झनुभयो । 

त्यसअघि सुवेदीले लेख्नुभएको ‘जोगीको भेषैमा।।।’ गीतमा पनि कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर छ । ७० को दशकयता सुवेदीको गीत लेखनले झन्झन् तीव्रता पाउँदै गयो । ‘माया हाँसेको।।।’, ‘शीतल दिने पिपल स्वामी छ।।।’, ‘अझै कन्य हो।।।’, ‘बर्बर आँशु झर्दा खेरीमा।।’ जस्ता गीतले उहाँलाई अझ प्रखर गीतकारका रुपमा चिनायो । पञ्चेबाजाका गीतमा पनि सुवेदीले कलम चलाउनुभएको छ । प्रेम र करुणाले ओतप्रोत गीत रचनामा पोख्त उहाँका गीतमा संयोगान्त र वियोगान्त कथा पाइन्छन् । उहाँ गीतलाई वाङ्मयको सबैभन्दा सुन्दरतम् उपजका रुपमा लिनुहुन्छ । 

“थोरै शब्दमा धेरै कुरा अभिव्यक्त गर्ने खुबी गीतले राख्छ, यो काव्यमा सबैभन्दा बढी सम्प्रेष्य विधा हो, गीतका हरेक हरफ र अनुच्छेदले कथा बोकेको हुन्छ”, सुवेदीले भन्नुभयो । गीत लेखेरै आफू बाँचेको उहाँले बताउनुभयो । साहित्यका अरु विधामा लेख्ने रुचि भए पनि गीतलेखनलाई आफूले मूलः रुपमा अपनाएको उहाँको भनाइ छ । 

सङ्गीतमय पवर्त–बागलुङको प्रकृति, पर्यावरण र सांस्कृतिक परिवेशले सिर्जनातर्फ डो¥याएको सुवेदीले बताउनुभयो । “न्वारानदेखि शङ्ख र भजन सुन्दै हामी हुर्कियौँ, जीवन र प्रकृतिका हरेक कुनाकन्दरामा सङ्गीतको मुर्छन्ना भेटिन्छ”, उहाँले भन्नुभयो, “सृष्टिमा सबै कुरा उपलब्ध छ, हामीले त्यसलाई कलाको माध्यमबाट अभिव्यक्त गर्ने मात्र हो ।”

आफूमा गीतसङ्गीतप्रतिको रुचि जाग्नुमा चलचित्रका गीतको प्रेरणा रहेको सुवेदीको भनाइ छ । “गाउँमा रोपाइँ सकियो भने हामी चलचित्र हेर्न बागलुङ बजार जान्थ्यौँ, त्यो बेला रेडियो नेपालमा बज्ने ‘चित्रमाला’ कार्यक्रम पनि खुब सुनिन्थ्यो”, सुवेदीले भन्नुभयो, “रामकृष्ण ढकाल, यम बराललगायत गायकका गीत त्यो बेला चर्चामा थिए ।” पुराना क्यासेटमा चलचित्र र आधुनिक गीत भरेर सुन्ने गरेको उहाँले अनुभव सुनाउनुभयो ।

चलचित्रका गीत सुन्दासुन्दै आफ्नो कला र सङ्गीतसँग परिचय भएको सुवेदीको भनाइ छ । लोकगायक विष्णु खत्रीलगायतलाई उहाँले आफ्नो प्रेरणाको स्रोत मान्नुहुन्छ । सुरुआती चरणमा पर्वतका गायक याम क्षेत्री र गायक तथा सङ्गीतकार बसन्त थापासँगको साङ्गीतिक सहयात्रालाई उहाँले कहिल्यै नबिर्सने बताउनुभयो । गायक क्षेत्री अमेरिकामा हुनुहुन्छ भने सङ्गीतकार थापासँग उहाँको अहिले पनि सहकार्य जारी छ । सुवेदीले लेखेका र सङ्गीत भरेका गीत ‘ऐना सिसाको।।’ गायक थापालगायतको स्वरमा छिट्टै सार्वजनिक हुँदैछन् । 

उक्त गीतको चलदृश्य छायाङ्कन भइरहेको सुवेदीले जानकारी दिनुभयो । नआफ्नै स्वरमा आउन लागेको गीत ‘पारि वन।।।’ पनि अहिले छायाङ्कनका क्रममा रहेको उहाँले सुनाउनुभयो । सिर्जनाकर्मलाई व्यावसायिक मार्गमा डो¥याउन सुवेदीले ‘भावगङ्गा’ नामको डिजिटल कम्पनी पनि सञ्चालनमा ल्याउनुभएको छ । उहाँको आफ्नै नामको ‘युट्युब च्यानल’ पनि छ । 

सुवेदीले गीत लेखनबाट प्रतिष्ठित ‘बिन्ध्यवासिनी’, ‘कालिका’लगायतका अवार्ड तथा सम्मान पाइसक्नुभएको छ । शिष्ट र शालिन बान्कीमा घाँटीमा ओशोको माला पहिरेर मन्द मुस्कानसहित गफिनुभएका सुवेदीले आफू नामको भने भोगी नरहेको बताउनुभयो । “बाँचुञ्जेल जीवन यात्राको आनन्द लिनुपर्छ, नाम पनि आखिर पानीको फोका जस्तै हो, मृत्यु शय्यामा जाँदा केबल रित्तो भएर जानुपर्छ”, रासससँगको कुराकानीलाई बिट मार्दै उहाँले कवि तीर्थ श्रेष्ठको कविता सम्झिनुभयो– 

हामीले लेखेर आएका छौँ
हिउँमा आ–आफ्ना नामहरु
एकछिनमा हिउँ थपियो भने
रहने छैनन् हाम्रा नामहरु
हामी रहँदारहँदै 
नरहने हाम्रा नामहरु 
हामी नरहँदा 

कसरी रहलान् हाम्रा नामहरु !

तपाईको प्रतिक्रिया