प्रदेश प्रमुख खापुङ्ग समक्ष प्रतिवेदन पेस

  भदौ १६, २०८१

मोरङ, १६ भदौः कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गलाई प्रदेश लोक सेवा आयोगले आज आर्थिक वर्ष २०८०/८१ को पाँचौ वार्षिक प्रतिवेदन वुझाएको छ ।

प्रदेश प्रमुख खापुङ्गलाई आयोगका अध्यक्ष महेन्द्र गुरागाईले प्रदेश प्रमुखको कार्यालयमा आव २०८०/८१ मा सम्पदन गरेका काम करवाहीको वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा प्रदेश प्रमुख खापुङ्गले आयोगले निष्पक्ष रुपमा कर्मचारी छनौट र सिफारिस गरेको बताउनुभयो । उहाँले मुलुकको सार्वजनिक प्रशासन सञ्चालनमा आयोगको ठूलो सहयोग पुगेको धारणा राख्नुभयो । प्रदेश प्रमुख खापुङ्गले आयोगको सशक्त क्रियाकलापको परिणाम स्वरुप प्रदेशका प्रशासनमा सवल र निष्पक्षतामा देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आयोगले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गर्दा प्रदेशको मोरङ जिल्ला बाहेक अन्य जिल्लाबाट कम परेको देखिएकोमा यो छलफलको विषय बन्न आवश्यक छ ।”

आयोगका प्रदेश अध्यक्ष गुरागाईले आव २०८०/८१ मा प्रदेश निजामती सेवाका विभिन्न सेवातर्फ माग भई आएका पद सङ्ख्याहरु कुल ४६४ पद रहेको जानकारी दिनुभयो । यसमध्ये खुला तथा समावेशीतर्फ ३३२, अन्तर स्थानीय तहतर्फ १४, आन्तरिक अन्तर सेवातर्फ चार गरी जम्मा ३५० का लागि विज्ञापन प्रकाशन गरिएको थियो । साथै वढुवातर्फ ११४ पदका लागि सूचना प्रकाशन गरेको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया