पारालिम्पिकमा काश्य पदक विजेता पलेशालाई पूर्वराजा ज्ञानेन्द्रले दिए बधाई

  भदौ १६, २०८१

काठमाडौँ ,१६ भदौ : पूर्वराजा ज्ञानेन्द्र शाहले पेरिसमा जारी पारालिम्पिकमा काश्य पदक विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई बधाई तथा शुभकामान दिएका छन् ।

आइतबार पूर्वराजा ज्ञानेन्द्रले पलेशाले ६० वर्षपछि ओलम्पिक इतिहासमा नेपालको लागि पहिलो पदक प्राप्त गरेको सुखद खबरले खुशी तुल्याएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्- ‘देशले विभिन्न चुनौतिहरुको सामना गरिरहनु परेको वर्तमान समयमा पारा तेक्वान्दोकी पलेशा गोवर्धनले अनेकौं प्रतिकुलताका बावजूत जुन सफलता हासिल गरेकी छिन यसले नेपाली खेलकुद इतिहास मै ठूलो सफलता प्राप्त गरेको छ भने नेपालको राष्ट्रिय गौरब बढाएको हामीले महशुस गरेका छौं ।’

उनले अन्तर्राष्ट्रिय खेलकुदमा ऐतिहासिक र पहिलो ठूलो पदक जित्न सफल भएकोमा पारा तेक्वान्दोकी पलेशा गोवर्धन सहित तेक्वान्दो एसोशियसन र तेक्वान्दो टीमलाई यो सफलताको लागि बधाई तथा शुभकामना दिएका छन् ।

साथै पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक काश्य पदक जिताएकी तेक्वान्दोकी खेलाडी पलेशा गोवर्धनले ६५ लाख रुपैयाँ पुरस्कार पाउने भएकी छन् ।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ ले व्यवस्था गरे अनुसार पलेशाले सो रकम पुरस्कार स्वरूप पाउने भएकी हुन् ।

नियमावलीमा व्यक्तिगत प्रतिस्पर्धामा ओलम्पिक खेल/गृष्मकालीन/शीतकालीन/पारा/विशेष तथा र विश्वकप फुटबलमा कास्य पदक जित्ने खेलाडीले ६५ लाख रुपैयाँ पुरस्कार दिइने उल्लेख छ ।

साथै नियमावलीमा पलेशाका प्रशिक्षक कविराज नेगी लामाले ५ लाख पचासी हजार र नेपाल तेक्वान्दो संघले ११ लाख ७० हजार पुरस्कार पाउने व्यवस्था गरिएको छ । नियमावलीले ओलम्पिकमा व्यक्तिगततर्फ स्वर्ण विजेता खेलाडीलाई १ करोड ३० लाख र रजत पदक जित्ने खेलाडीलाई ९७ लाख नगद पुरस्कार दिने व्यवस्था गरेको छ ।

पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत भएको के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिष्पर्धामा मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै पलेशाले काश्य पदक जितेकी हुन् । योसँगै पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् ।
 

तपाईको प्रतिक्रिया