सगरमाथा युथ क्लब मोरङ ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश

  भदौ ०७, २०८१

ताप्लेजुङ, ७ भदौ : सगरमाथा युथ क्लब मोरङ ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा घरेलु टिम सङ्घर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङलाई २–१ गोल अन्तरले पराजित गर्दै मोरङ फाइनलमा प्रवेश गरेको हो । इन्जुरी समयमा धकेलिएको खेलमा फाइनल प्रवेशका लागि मोरङका मिलन राईले गर्नुभएका दुई गोल पर्याप्त बने ।

सुरुआती अग्रता लिएको मोरङविरुद्ध खेलको ६०औँ मिनेटमा ताप्लेजुङका कप्तान अनुप सेन्दाङले गोल गर्दै बराबरी गर्नुभएको थियो । निर्धारित समयमा बराबरी भएपछि खेल इन्जुरी समयतमार्फत धकेलिएको थियो । उक्त समयमा मिलनले थप एक गोल गर्दै आफ्नो टिमलाई फाइनलमा पु-याउनुभएको हो ।

मोरङले भोलि हुने विर्तामोड युनाइटेड फुटबल क्लब र सिराहाको सलहेस युथ क्लबको विजेतासँग उपाधिका लागि भदौ १० गते भिड्ने छ । सेमिफाइनलको दोस्रो खेलमा आज सलहेस युवा क्लब सिराहा र बिर्तामोड युनाइटेड फुटबल क्लब, झापाबिच दिउँसो साढे २ बजे प्रतिस्पर्धा हुनेछ ।

सिराहाले पाँचथर फुटबल क्लबलाई १–० गोलले र झापाले बिहीबार त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौंलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका थिए । यही भदौ १० गते हुने प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले रु दुई लाख ५० हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया