‘नेपाल र काशीबीच भाषा, साहित्यका विषयमा निरन्तर विमर्श हुनुपर्ने’

  भदौ ०२, २०८१

वाराणसी (उत्तरप्रदेश, भारत), २ भदौ : नेपाली साहित्यका शीर्षस्थ व्यक्तित्वले काशीबाटै ज्ञान आर्जन गरेर स्थापित भएकाले नेपाल र काशीबीच नेपाली भाषा, साहित्यका विषयमा निरन्तर विमर्श हुनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान र काशी हिन्दू विश्वविद्यालय, भारतीय भाषा विभागले संयुक्त रुपमा आयोजना गरेको प्राज्ञिक भेटघाट तथा नेपाली भाषा र दर्शनबारे अन्तरक्रियामा सहभागी विद्वानले ‘ज्ञान नपाए काशी जानु, न्याय नपाए गोरखा जानु’ भन्ने उखान पनि नेपालमा प्रसिद्ध रहेकाले दुई देशबीच प्राज्ञिक सम्बन्ध स्थापित हुनुपर्नेमा जोड दिनुभएको हो ।

प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदीले आदिकवि भानुभक्त आचार्य, मोतीराम भट्ट, प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतले पनि काशीबाटै ज्ञान आर्जन गर्नुभएकाले सम्बन्ध पुनःस्थापित गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । हलन्त बहिष्कार, झर्रोवादी आन्दोलन पनि काशीबाटै सुरु भएकाले पनि नेपाली साहित्यमा यहाँको महत्वपूर्णस्थान रहेको उहाँको भनाइ थियो ।

साहित्य र संस्कृतिका माध्यमबाट दुई देशलाई जोड्नुपर्ने अभियान चलाउँदै आउनुभएका अभियानकर्मी धर्मराज बरालले नेपाली भाषाका माध्यमबाट दुई देशलाई जोड्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । नेपाली भाषालाई आफ्नोपनमै फर्काउन भारतीय भाषा विभागका प्रमुख डा दिवाकर प्रधानले पु¥याउनुभएको योगदान महत्वपूर्ण रहेको उहाँको भनाइ थियो ।

सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका प्राध्यापक डा हरिप्रसाद अधिकारीले नेपाल र काशीबीचको अनादिकालदेखिको सम्बन्धलाई नेपाली भाषा साहित्यका माध्यमबाट नयाँ उचाइमा लैजान सहिने भनाइ राख्नुभयो । भारतवर्षमा नेपाली भाषाको राम्रो प्रभाव रहेको बताउनुहुँदै उहाँले उत्तरप्रदेश बोर्ड, उत्तराखण्ड र सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयमा पनि नेपाली भाषाको अध्ययन, अध्यापन हुने गरेको जानकारी दिनुभयो ।

काशी हिन्दू विश्वविद्यालयको भारतीय भाषा विभागका प्रमुख प्राडा दिवाकर प्रधानले काशी र नेपालबीचको पुरानो सम्बन्धलाई नेपाली भाषा, साहित्यले अझ प्रगाढ बनाउने बताउनुभयो । प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवं दर्शन विभाग प्रमुख डा कृष्णराज अधिकारीले दुई देशबीच दर्शनका विषयमा पनि प्राज्ञिक विमर्श गरिनुपर्नेमा जोड दिनुभयो ।

सिक्किमबाट कार्यक्रममा सहभागी सुस्मिता शर्माले प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित नेपाली बृहत् शब्दकोशमा ‘लास्टै’ शब्दलाई नेपाली बनाएर उल्लेख गरिएकामा अचम्म लागेको बताउनुभयो । काशी हिन्दू विश्वविद्यालयबाट साहित्यकार पारिजातका विषयमा विद्यावारिधि गर्नुभएकी डा सृजना शर्माले पहिले भारतीय शहरमा साझा प्रकाशनको विक्री केन्द्रबाट नेपाली भाषा, साहित्यका पुस्तक अध्ययन गर्ने अवसर पाएकामा अहिले बन्द हुँदा समस्या भएको बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया