पेरिस ओलम्पिक : धाविका सन्तोषी ७९औँ स्थानमा

  साउन २७, २०८१

काठमाडौँ, २७ साउन : नेपाली धाविका सन्तोषी श्रेष्ठले फ्रान्सको पेरिसमा जारी ओलम्पिक–२०२४ अन्तर्गत महिला म्याराथनमा ७९औँ स्थानमा अटाउनुभएको छ । 

आइतबार भएको म्याराथनमा सन्तोषीले निर्धारित दूरी दुई घन्टा ५५ मिनेट ६ सेकेन्डमा पूरा गर्नुभयो । महिला म्याराथनमा विश्वका ९२ धाविकाले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये ११ जनाले दौड पूरा गर्न सकेनन् । पहिलो पटक ओलम्पिक खेल्नुभएकी सन्तोषीले वाइल्ड कार्डमार्फत पेरिस यात्रा तय गर्नुभएको हो । 

जसमा नेदरल्यान्ड्सकी सिफन हसनले ओलम्पिक कीर्तिमानसहित स्वर्णपदक जित्नुभयो । उहाँले निर्धारित दूरी दुई घन्टा २२ मिनेट ५५ सेकेन्डमा पूरा गर्नुभएको थियो । रजत पदक इथोपियाकी असिफा टिग्स्टको नाममा रह्यो । उहाँले दुई घन्टा २२ मिनेट ५८ सेकेन्डमा दूरी पार गर्नुभएको थियो । केन्याकी धाविका ओबेरी हेललले दुई घन्टा २३ मिनेट १३ सकेन्डमा दूरी पार गर्दै काँस्य पदक जित्नुभयो । 

सन्तोषीको दौडसँगै पेरिस ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त भएको छ ।  यसअघि नै टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका डुवाना लामा र एलेक्सजेन्डर शाह तथा जुडोकी मनिता श्रेष्ठ प्रधान ओलम्पिकको पहिलो चरणबाटै बाहिरिनुभएको थियो । 

तपाईको प्रतिक्रिया