काठमाडौँ, २२ साउन : नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा मङ्गलबार भएको खेलमा इरानलाई ३–० को सोझो सेटमा हराएपछि नेपाल फाइनमा प्रवेश गरेको हो ।
नेपालले इरानमाथि २५–२१, २८–२६, २५–२० को नतिजा निकालेको थियो । नेपालले इरानविरुद्ध लिग चरणमा खेपेको हारको बदलासमेत लिएको छ । लिग चरणमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो ।
फाइनलमा नेपालले बलियो भारतसँग प्रतिस्पर्धा गर्नेछ । मङ्गलबार भएको खेलमा भारतले श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो । भारतले २५–१५, २५–१६, २५–२३ को जित निकालेको थियो ।
लिग चरणमा नेपालले भारतलाई ३–२ को सेटमा हराएको थियो । महिला भलिबलमा नेपालले भारतलाई हराएको यो पहिलो पटक हो । फाइल खेल बुधबार हुनेछ ।