रातो मत्स्येन्द्रनाथको भोटो देखाइयो

  साउन २०, २०८१

ललितपुर, २० साउन : आइतबार ललितपुरको जावलाखेलमा जात्राको अन्तिम दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाइएको छ। मत्स्येन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आइतबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाइएको हो । 

अवलोकनका लागि राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, मन्त्रीलगायत उच्च पदस्थ अधिकारीको सहभागिता थियो । 

भोटो जात्रा लिच्छवीकालदेखि मनाउने गरिएको विश्वास छ । कपडाको थैलीमा सिलबन्दी गरेर राखिएको मणि जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका थिए । सो अवसरमा राष्ट्रपति पौडेलसहितका उच्च पदस्थ व्यक्तिले टिका, प्रसाद ग्रहण गर्नुभएको थियो । 

तपाईको प्रतिक्रिया