काठमाडौँ, १३ साउन : नेपाली सुटिङ खेलाडी सुस्मिता नेपाल पेरिस ओलम्पिक-२०२४ को महिला १० मिटर एयर राइफलमा आज ४२औँ स्थान हासि गरेकी छन् ।
पेरिसदेखि स्थलमार्गबाट करिब तीन घण्टा टाढा रहेको चतरोक्स सुटिङ रेन्जमा भएको प्रतियोगितामा कूल ४४ प्रतिस्पर्धीमध्ये सुस्मिताले ४२औँ स्थानमा रहिन् । शरणार्थी टोलीकी लुना सोलोमन ४३औँ भइन् भने अल्जेरियाकी हौडा छाबीले भाग लिइनन् ।
खेलमा सुस्मिताले कूल ६५४ अङ्कमा ६०७.८ अङ्क जोडिन् । सुस्मिताले पहिलो सिरिजमा १०४.५, दोस्रोमा १०१.७, तेस्रोमा १००.७, चौथोमा ९९.९, पाँचौँमा १०२.२ र छैटौँमा ९८.२ अङ्क जोडिन् । शीर्ष आठ मा रहने खेलाडी मात्र फाइनल पुग्ने प्रावधान रहेकाले सुस्मिताको चुनौती समाप्त भएको छ ।
यो स्पर्धामा सुस्मिताकै नाममा कूल ६५४ अङ्कमा ६१९.१ अङ्कको राष्ट्रिय कीर्तिमान छ । उक्त कीर्तिमान सुस्मिताले नेपालमै भएको चीनको हाङझावमा भएको १९औँ एसियाली खेलकुदको खेलाडी छनोट प्रतियोगितामा बनाएकी थिइन् ।
दक्षिण कोरियाका हयुजिन बान ६३४.५ अङ्कको ओलम्पिक क्वालिफिकेसन रेकर्डसहित आठ जना फाइनलमा प्रवेश गरेका छन् । फाइनल पुग्ने अन्य खेलाडीमा नर्वेकी हेग जिनेट, स्वीटजरल्याण्डकी एन्ड्री गोमियट, चीनकी युटिङ हुवाङ, भारतकी रमिता, काजाकिस्तानकी एलेक्जेन्ड्रा ले, अमेरिकाकी सगेन माडालेना र फ्रान्सका ओसिएने मुलर रहेका छन् । फाइनल खेल भोलि हुनेछ ।