महोत्सवपछि सार्वजनिक प्रदर्शनमा आउँदै ‘शाम्बाला’

  साउन १२, २०८१

काठमाडौँ, १२ साउन : पहिलो निर्देशकीय चलचित्र ‘कालोपोथी’मार्फत अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उपस्थिति देखाउनुभएका निर्देशक मीनबहादुर भामको निर्देशनमा तयार भएको दोस्रो चलचित्र ‘शाम्बाला’को नेपाल प्रदर्शन भदौ २८ लाई तय गरिएको छ ।

विश्व प्रतिष्ठित ‘बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२४’ मा अन्तर्राष्ट्रिय चलचित्रको विधाअन्तर्गत छनोट भएको ‘शाम्बाला’ महोत्सवपछि नेपाल प्रदर्शनमा ल्याईएको निर्देशक भामले जानकारी दिनुभयो ।

“घरेलु दर्शकमाझ आउँदा उत्साहित छु । पहिलो चलचित्र सीमित चलचित्र भवनमा मात्र प्रदर्शन भएको थियो, यो भने नेपालभर प्रदर्शन हुँदैछ । हामीले आठ वर्षदेखि यसको निर्माण गरिरहेका छौँ, आजको यो सफलता त्यो यात्रामा गरिएको दुःखको प्रतिफल हो जस्तो लाग्छ”, निर्देशक भामले भन्नुभयो ।

उहाँले चलचित्रको सुरुआत गर्दा ‘चिसो वर्ष’ नाम राखे पनि तयार भएपछि ‘शाम्बाला’ राखिएको जानकारी दिँदै यसमा मौलिकपना नहराओस् भनेर नेपालीसँगै तिब्बतको भाषा प्रयोग गरिएको बताउनुभयो ।

उच्च हिमाली गाउँमा गर्भवती श्रीमतिले देवरका साथमा श्रीमानको खोजीमा हिँडेको कथा प्रस्तुत गरिएको चलचित्रलाई निर्देशक भामले अविनाशविक्रम शाहसँग मिलेर लेख्नुभएको हो । डोल्पामा दृश्याङ्कन गरिएको चलचित्रमा थिन्ले ल्हामो, सोनम तोप्द्न, तेन्जिङ डल्हाल, कार्म शाक्यलगायतले अभिनय गर्नुभएको छ ।

निर्देशक भामद्वारा निर्देशित लघु चलचित्र ‘बाँसुल्ली’बाट पहिलोपटक नेपालबाट भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रवेश भएको थियो भने उहाँको पहिलो निर्देशकीय चलचित्र ‘कालोपोथी’ले थुप्रै अन्तर्राष्ट्रिय पुरस्कार (अवार्ड) जित्न सफल भएको थियो ।

तपाईको प्रतिक्रिया