पेरिस, ६ साउन : पेरिस ओलम्पिक सुप्रिमो टोनी एस्टान्गुएटले आइतबार खेल आयोजनाको प्रभावका बारेमा केही बासिन्दा र व्यवसायीहरूको गुनासोलाई बेवास्ता गर्दै सहर खेलका लागि ‘तयार’ रहेको बताउनुभएको छ ।
“हामी अन्तिम चरणमा पुग्दा तयार छौँ”, आगामी शुक्रबार उद्घाटन परेडभन्दा पाँच दिनअघि उहाँले पेरिसमा पत्रकार सम्मेलनमा भन्नुभयो, “समापन समारोह समाप्त नभएसम्म हामीले सतर्क रहन आवश्यक छ तर आज हामी ठिक त्यही स्थानमा छौँ जहाँ हामीले केही वर्षअघि सपना देखेका थियौँ ।”
सिटी अफ लाइटमा आयोजना स्थलहरूलाई अन्तिम रूप दिइएको छ तथा हजारौँ खेलाडी र अधिकारीहरू आइरहेका छन् । महिनौँको वर्षापछि मौसम पनि उज्यालो भएको छ ।
आयोजकहरूका लागि थप प्रोत्साहनका रूपमा सिन नदीको पानीको गुणस्तर पनि जुलाईको सुरुदेखि नाटकीयरूपमा सुधार भएको छ । उक्त नदीको प्रयोग आउटडोर ओलम्पिक पौडी कार्यक्रमहरूका लागि निर्धारण गरिएको छ ।
“यो स्तरमा सिनका लागि सबै सूचकहरू सकारात्मक छन्”, एस्टान्गुएटले भन्नुभयो । नदीले आगामी शुक्रबार उद्घाटन समारोह आयोजनाको तयारी गरेको छ । नदीमा छ हजारदेखि सात हजार खेलाडी ८५ वटा नौका र डुङ्गामा यात्रा गर्नेछन् ।
गृष्मकालीन ओलम्पिक मुख्य एथलेटिक्स स्टेडियमबाहिर खेलिने यो पहिलो पटक हुनेछ । यसमा तीन लाख टिकटसहितका दर्शकहरू स्ट्यान्ड र नदीको किनारबाट तथा दुई लाख दर्शकले अपार्टमेन्टहरूबाट हेर्ने अपेक्षा गरिएको छ । एस्टन्गुएटका अनुसार करिब चार हजार टिकट अझै पनि उपलब्ध छन् ।
“खेलहरूले फ्रान्सलाई चम्काउन सकुन् भनेर हामीले जहिले पनि सम्भव भएसम्म उच्चस्तरको महत्त्वाकांक्षा कायम राख्ने प्रयास गरेका छौँ”, उहाँले भन्नुभयो ।
अवरोध
नदी किनार र ओलम्पिक स्थलहरू वरपरका धेरै मानिसका लागि मध्य पेरिसको ठूलो भाग निषेध गरिएकाले उद्घाटन समारोहका लागि आवश्यक व्यापक सुरक्षा अभियानका कारण केही टकराव निम्त्याइरहेको छ ।
पेरिसका पसल, रेस्टुरेन्ट, बार र क्लबहरूको प्रतिनिधित्व गर्ने व्यापार समूहहरूले शुक्रबार ‘भारी सुरक्षा उपायहरू’ लाई दोष दिँदै ‘व्यापार र ग्राहकहरूको सङ्ख्यामा अभूतपूर्व गिरावट’ को सामना गर्नुपरेको गुनासो गरेका छन् ।
“पेरिस २०२४ को सफलता भनेको सहरमा खेलहरूको आयोजना हुनु हो भनेर हामीले सधैँ पूर्ण विवेकमा छनोट गरेका थियौँ”, एस्टान्गुएटले भन्नुभयो, “यो पेरिस २०२४ का लागि पूर्णरूपमा अभूतपूर्व अवधारणा थियो ।”
सहरको मुटुमा उद्घाटन समारोहका साथै अधिकांश खेल पेरिस वरपरका अस्थायी स्थानहरूमा हुँदैछन् । यसमा एफिल टावरमा बिच भलिबल, इनभलाइड्समा आर्चरी र प्लेस डे ला कन्कोर्डमा स्केटबोर्डिङ खेल समावेश छन् ।
“हामीले केही अवरोधबिना यो गर्न सक्तैनौँ, केही प्रतिबन्धबिना गर्न सक्तैनौँ, हामीले यी प्रतिबन्धको पूर्वानुमान लगाउने प्रयास गरेका छौँ र हामीले तिनीहरूलाई धेरैअघि सूचित गरेका छौँ”, एस्टान्गुएटले भन्नुभयो, “वास्तवमा यो हाम्रो मुलुकको सबैभन्दा राम्रो तरिकामा सम्मान हो भन्ने बुझ्नेलाई धन्यवाद दिएका छौँ ।”
सुरक्षा
फ्रान्सेली सुरक्षा बलका करिब ४५ हजार सदस्य शुक्रबार साँझ ७ः३० मा ओलम्पिक सुरु हुँदा ड्युटीमा हुनेछन् । एस्टान्गुएटले पेरिस २०२४ का लागि सुरक्षा पहिलो प्राथमिकता रहेको बताउनुभयो ।
साइबर सुरक्षा पनि प्रमुख चिन्ताको विषय बनेको छ । गत शुक्रबार क्राउडस्ट्राइक सफ्टवेयर अपडेटका कारण खेलहरूका लागि प्रयोग गरिएको मान्यता प्रणालीमा अस्थायी अवरोध उत्पन्न भएको थियो ।
रुसमाथि लगाइएका हालैका घटनाहरूपछि खेलकुदको महाकुम्भलाई निशाना बनाएर दुष्प्रचारका आक्रमणका लागि तयारी गरिरहेको अन्तर्राष्ट्रिय ओलम्पिक समितिले बताएको छ ।
अधिकांश खेलहरूले युक्रेनमाथि आक्रमणको जवाफमा रुसी र तिनीहरूका सहयोगीहरूमाथि प्रतिबन्ध लगाइएकाले १५ रुसी र १७ बेलारुसीलाई मात्र तटस्थका रूपमा प्रतिस्पर्धा गर्न मान्यता दिइएको छ । (रासस/एएफपी)