काठमाडौँ, ३१ असार : नेपाल भलिबल सङ्घले माल्दिभ्सको मालेमा हुने काभा यु–२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीलाई बिदाइ गरेको छ । च्याम्पियनसिप यही जुलाई १८ देखि २३ तारिखसम्म हुँदैछ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य—सचिव टङ्कलाल घिसिङ, सहानाप्रधान फाउण्डेसनका अध्यक्ष रामकुमारी झाँक्री, नेपाल भलिबल सङ्घका अध्यक्ष जीतेन्द्रबहादुर चन्द, उपाध्यक्ष भरतबहादुर शाहलगायतले आज यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै टोलीको बिदाइ गर्नुभयो ।
नेपालले पहिलोपटक उमेर समूह काभा यु–२० च्याम्पियनसिप खेल्न लागेको हो । भलिबलको विकासका लागि नेपाल भलिबल सङ्घले उमेर समूहको प्रतियोगिता गराउने र अन्तर्राष्ट्रियस्तरमा पनि सहभागिता गराउने योजना बनाएको छ ।
सेन्ट्रल एसियन भलिबल एशोसिएसन (काभा) को कार्यक्रमअनुसार हुन लागेको प्रतियोगितामा नेपाल, श्रीलङ्का, आयोजक माल्दिभ्स, कीर्गिस्तानगरी कूल चार टोलीको सहभागिता रहेको छ ।
राखेप सदस्य–सचिव घिसिङले पहिलोपटक यु–२० उमेर समूहको महिला टोली अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जान लागेको भन्दै यो राम्रो सुरुआत भएको र यस टिमबाट भविष्यमा राम्रो प्रदर्शन हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपालले पहिलो खेल जुलाई १८ मा श्रीलङ्कासँग खेल्नेछ । यस्तै दोस्रो खेल जुलाई २० मा कीर्गिस्तानसँग र तेस्रो खेल माल्दिभ्ससँग खेल्ने तालिका छ । सिङ्गल राउण्ड रोविनका आधारमा सबै टिमले एकापसमा खेलेपछि सेमिफाइनल खेल हुनेछ । लिगमा पहिलो हुने र चौथो हुने तथा दोस्रो हुने र तेस्रो हुनेबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ । फाइनल खेल जुलाई २३ मा हुनेछ ।
नेपालले काभा यु–२० महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेको छ । नेपाली टोली भोलि माल्दिभ्स प्रस्थान गर्र्दैछ । नेपाली टोलीमा सलिना बुढामगर, जेनिशा विश्वकर्मा, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एञ्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना र आशिका क्षेत्री छन् । मुख्य प्रशिक्षकमा कुमार राई, सहायक प्रशिक्षकमा अर्जुन घिमिरे र व्यवस्थापकमा जुनु पुन रहेका छन् ।