‘लोकर्नो चलचित्र महोत्सव’मा छनोट भयो ‘शाम्बाला’

  असार २८, २०८१

काठमाडौँ, २७ असार : पहिलो चलचित्र ‘कालोपोथी’मार्फत अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा बलियो उपस्थिति देखाउनुभएका निर्देशक मीनबहादुर भामको निर्देशनमा तयार भएको दोस्रो चलचित्र ‘शाम्बाला’ स्वीट्जरल्याण्डको विश्वप्रसिद्ध ‘लोकर्नो चलचित्र महोत्सव’को ७७औँ संस्करणमा छनोट भएको छ ।

आगामी साउन २३ देखि भदौ १ गतेसम (अगस्ट ७ देखि १७ सम्म) चल्ने महोत्सवअन्तर्गत अन्तर्राष्ट्रिय चलचित्रको ‘पियाजा ग्राण्डे’ विधामा फिल्म छनोट भएको चलचित्र ‘शाम्बाला’को निर्माण टीमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । “नवीनतम र फरक चलचित्रका लागि लोकार्नो प्रख्यात छ । अन्तर्राष्ट्रिय मञ्चमा नेपाली कथावस्तुलाई प्रस्तुत गर्न पाउँदा निकै उत्साहित छौँ”, विज्ञाप्तिमा उल्लेख छ ।

निर्देशक भामले यो चलचित्र निर्माण गर्न आठ वर्ष लागेको बताउनुभयो । “हामीले आठ वर्षदेखि यसको निर्माण गरिरहेका छौँ, यो सफलता त्यो यात्रामा गरिएको दुःखको प्रतिफल हो, नेपाली चलचित्रलाई प्रतिनिधित्व गराउन पाउँदा हर्षित छौँ”, निर्देशक भामले भन्नुभयो ।

उहाँले चलचित्रको सुरुआत गर्दा ‘चिसो वर्ष’ नाम राखे पनि निर्माण पूरा भएपछि ‘शाम्बाला’ राखिएको जानकारी दिँदै यसमा मौलिकपना नहराओस् भनेर नेपालीसँगै तिब्बतको भाषा प्रयोग गरिएको बताउनुभयो । उच्च हिमाली गाउँकी एक गर्भवतीलाई श्रीमानले छाडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिँडेको कथा प्रस्तुत गरिएको चलचित्रलाई निर्देशक भामले अविनाश विक्रम शाहसँग मिलेर लेख्नुभएको हो ।

डोल्पाको चार हजार दुई सयदेखि छ हजारको उचाइमा दृश्याङ्कन गरिएको चलचित्रमा थिन्ले ल्हामो, सोनम तोप्द्न, तेन्जिङ डल्हाल, कार्म शाक्यलगायतले अभिनय गर्नुभएको छ ।

निर्देशक भामद्वारा निर्देशित लघु चलचित्र ‘बाँसुल्ली’बाट पहिलोपटक नेपालबाट भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रवेश भएको थियो भने उहाँको पहिलो निर्देशकीय चलचित्र ‘कालोपोथी’ले थुप्रै अन्तर्राष्ट्रिय पुरस्कार (अवार्ड) जित्न सफल भएको थियो ।

तपाईको प्रतिक्रिया