काठमाडौँ, २२ असार : गायक राजेश ढकालको मौलिक घाँसे भाकामा सार्वजनिक भएको ‘असार १५’ बोलको गीत छोटो समयमा डिजिटल बजारमा ‘ट्रेन्डिङ’को २७औँ स्थानमा रहन सफल भएको छ ।
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ मा जन्मिनुभएका लोकदोहोरी गायक ढकाल दुई दशकदेखि नेपाली लोक साङ्गीतिक क्षेत्रमा हुनुहुन्छ । उहाँका ‘रातो साडी पानबुट्टेचोली हे बैगुनी’, ‘दुई खोली दोभान’, ‘घरमाइत’, ‘नाची देउ छमछमी’लगायत दर्जनौँ गीत लोकप्रिय छन् ।
गतवर्ष पनि ढकालको असार विशेष मौलिक असारे घासे भाकामा ‘गैह्री खेतको रोपाइँ’ बोलको गीत चर्चामा थियो । ‘असार १५’ गीतमा गायिकाद्वय प्रतिमा अर्याल र सरु गौतमले साथ दिनुभएको छ ।
गीतमा संयोजन विष्णु तामाङ, मिलन श्रेष्ठ म्युजिक भिडियो निर्देशन र भिडियो सम्पादन रोशन धितालको रहेको छ । सन्कारा डिजिटलमा उक्त गीत सागर पुनले रेकर्ड गर्नुभएको छ भने कुमार पुनको ‘मिक्सिङ’ रहेको छ ।