कोशी प्रदेशस्तरीय महिला फुटबल : इलाम र ताप्लेजुङ सेमिफाइनल प्रवेश

  असार २२, २०८१

खोटाङ, २१ असार : खोटाङको बुइपामा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा इलाम र ताप्लेजुङ सेमिफाइनल प्रवेश गरेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा जारी प्रतियोगितामा आज इलामले ओखलढुङ्गालाई शून्यका विरुद्ध एक र ताप्लेजुङले खोटाङलाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

बिहीबार भएको खेलमा ओखलढुङ्गाले सोलुखुम्बूलाई शून्यका विरुद्ध एक तथा ताप्लेजुङले धनकुटालाई शून्यका विरुद्ध एक गोलले पराजित गरी क्वाटर फाइनलमा पुगेको थियो । बिहिबारको खेलमा इलामले उदयपुरलाई र खोटाङले सुनसरीलाई ट्राइब्रेकरमा पराजित गरेको थियो ।

आज सम्पन्न समूह चरणको खेलमा मोरङले पाँचथरलाई शून्यका विरुद्ध एक गोल गरेको छ । तेह्रथुमले सङ्खुवासभालाई शून्यका विरुद्ध एक गोलले पराजित गरी क्वाटर फाइनलमा प्रवेश गरेको छ । जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजन तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा भएको प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका खेलाडी सहभागी छन् ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास बोर्डको रु २० लाख सहयोगमा सञ्चालन भएको प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले रु एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिताको तेस्रो दिन शनिबारको पहिलो खेल भोजपुर र मोरङ तथा दोस्रो खेल झापा र तेह्रथुमबीच हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया