नारायणगढ (चितवन), ५ असार : चितवनको खैरहनी नगरपालिका–११, सुन्डीका किसान राम बहादुर केसीले यस वर्ष आफ्नो खेतमा पूरै चैते धान लगाउनुभयो । चैतै धानका लागि यस वर्ष मौसम उपयुक्त हुँदा धान उत्पादन वृद्धि भयो । केसी भन्नुहुन्छ, “गत वर्ष २४ कट्ठामा लगाएको धान ४२ क्विन्टल भएको थियो, तर यसपालि बढेर ५० क्विन्टल हाराहारी पुग्यो ।”
धान उत्पादन बढेको देखेर उहाँ मख्ख हुनुहुन्छ । धानको मूल्यमा एकरुपता नहुँदा भने उहाँलाई चिन्ता लागेको छ । उहाँले गतवर्ष धानको मूल्य क्विन्टलको रु एक हजार आठ सयबाट सुरु भएर तीन हजार पुगेकोमा यसवर्ष ३२ सयबाट सुरु भइ घट्दो क्रममा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “चैते–५ जातको धान खानको लागि निकै मीठो हुन्छ । आफूलाई खाने राखेर सबै बेच्ने हो, एक वर्षपछि यसको भात मीठो हुन्छ ।” उत्पादन भएका धान खरिदका लागि खेतमै व्यापारी आउने हुँदा बिक्रीमा समस्या नहुने उहाँको भनाइ छ ।
खैरहनी–१० का श्रीराम महतोले यस वर्ष झण्डै दुई बिघा खेतमा चैते–५ धान मेसिन प्रयोग गरेर लगाउनुभयो । उहाँले भन्नुभयो, “मैले डेढ बिघा खेतमा मेसिन प्रयोग गरेर धान लगाएँ, बाँकी जग्गामा पुरानो तरिकाले लगाउँदा मेसिन प्रयोग गरेको स्थानमा बढी धान फलेको छ । रोग कीरा पनि लागेको छैन ।”
उहाँले आफूले लगाएको दुई बिघा जमिनमा यसवर्ष प्रतिकट्ठामा दुई दशमलव पाँच क्विन्टलभन्दा बढीका दरले धान फलेकाले उत्पादनबाट सन्तुष्ट रहेको बताउनुभयो ।
खैरहनी १२ का वडा सदस्यसमेत रहनुभएका किसान श्याम रेग्मीले यस वर्ष उत्पादन भएको चैते धानले किसानलाई निकै उकासेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चैते धानको उत्पादनबाट हामी सन्तोषजनक छौँ ।” उहाँले चैतै धानको उत्पादनबाट यस वर्ष एक सय २२ बिघा खेत भएको वडा नम्बर १२ मा मात्रै रु १४ करोडको चैते धान बिक्री भएको जानकारी दिनुभयो । यस क्षेत्रमा प्रतिकट्ठा तीन क्विन्टलभन्दा बढी धान उत्पादन भएको उहाँको भनाइ छ ।
खैरहनी नगरपालिकाका कृषि विकास अधिकृत गौरव न्यौपानेले यस वर्ष समग्र पालिकाको चैतेधान उत्पादन वृद्घि भएको बताउनुभयो । उहाँले यस पटक पालिकामा दुई हजार तीन सय ५१ हेक्टर क्षेत्रफलमा चैते धान लगाएको जानकारी दिनुभयो ।
यसवर्षको चैते धान ४० प्रतिशतले वृद्घि भएको कृषि शाखाले जनाएको छ । खैरहनी नगरपालिकाको खेतीयोग्य जमिन पाँच हजार आठ सय ८२ दशमलव चार हेक्टरमध्ये पाँच हजार आठ सय ९९ हेक्टरमा धान खेती गरिँदै आएको छ । न्यौपानेका अनुसार तीन हजार पाँच सय ४८ हेक्टर क्षेत्रफलमा बर्खे धान लगाईन्छ । चैते धान काट्ने समयमा धानको दानामा लाग्ने डडुवा र ‘नेक ब्लाष्ट’ नामको रोग नदेखिएको कारण पनि यस वर्ष धान उत्पादन बढेको हो ।
यस वर्ष चैते धान १४ हजार दुई सय ७० दशमलव ५७ मेट्रिक टन उत्पादन हुने आँकलन गरिएको छ । गत वर्ष यहाँ नौ हजार आठ सय ७६ मेट्रिक टन चैते धान उत्पादन भएको थियो । यस वर्ष बढी मात्रामा चैते–५ जातको धान उत्पादन भएको छ । त्यसैगरी पिआर, बिजी–१४४२, हर्दिनाथजस्ता चैते धानहरु पनि लगाइएको अधिकृत न्यौपानेले जानकारी दिनुभयो ।